जाजरकोटका भूकम्पपीडितलाई मुटु फाउण्डेशन र मनोज एशोसियशनद्धारा ३०० थान व्याङ्वेट सहयोग


जाजरकोट, १७ मंसीर । मुटु फाउण्डेशन काठमाडौँ र मनोज एशोसियशन फ्रान्सद्धारा जाजरकोटका भूकम्पपीडितलाई ३०० थान व्याङ्वेट सहयोग गरेको छ ।

फाउण्डेशन र एशोसियशनको टोलीले गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका पीडितलाई जाडोको समयमा चिसोबाट जोगाउन सहजता पुगोस् भन्ने उदेश्यले ३०० थान व्याङ्वेट सहयोग गरेको हो ।

फाउण्डेशन र एशोसियशनको टोलीले भूकम्पपीडित जनतालाई जाडो र चिसोबाट जोगाउन व्याङ्वेट र स्वीटरलगायतका सामाग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको रोहवरमा भूकम्पको केन्द्रविन्दू वारेकोट गाउँपालिकास्थित रामीडाँडा, सिल्पाचौर र रोकायागाउँमा वितरण गरेको मुटु फाउण्डेशनका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

सहयोग कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरि, उपाध्यक्ष नरबहादुर गिरि, वडा नं २ का वडाअध्यक्ष वीरबहादुर घर्ती, समाजसेवी, बुद्धिजीवी र स्थानीयबासीको सहभागीता रहेको थियो । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय जाजरकोट, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह र वडालगायत सहयोगीदातालाई उक्त संस्थाले धन्यवाद समेत दिएको छ ।

यसअघि सो फाउण्डेशन र एशोसियशनले गोरखाका विभिन्न क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग गर्दै गोरखाबासीलाई निःशुल्क स्वास्थ्य चेकजाँच समेत गर्दै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?