विद्यालयको बाँझो जमिनमा तोरी खेती


भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ । विद्यायलको जग्गा संरक्षणसंगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिनुभयो ।

यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रम समेत सञ्चालनमा छ । “विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ, उहाँले भन्नुभयो, “त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान ग¥यो ।” उहाँले अनुसन्धान कार्यक्रम बाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताउनुभयो । “झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ”,उहाँले भन्नुभयो, “यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ ।”

विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उहाँले बताउनुभयो । कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उहाँले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताउनुभयो । उहाँले भन्नुभयो “स्थानियले भैसी बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उहाँहरु सबैले राम्रो गर्नुभएको छ भन्दै सहयोग गर्न आउनुहुन्छ । ” खेतीले विद्यालयलाई समुदायसंग जोड्ने सेतुको रुपमा काम गरेको अनुभव भएको उहाँले बताउनुभयो ।

विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले सिचाइँको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसंग अनुरोध गरिएको जानकारी दिनुभयो । “विद्यालयलाई यो कार्यक्रम मार्फत नमूना विद्यालयको रुपमा अघि बढाउने योजना छ”,उहाँले भन्नुभयो,“विद्यार्थीलाई सिकाइसंग र अभिभावकलाई विद्यालयसंग जोड्ने यो महत्वपूर्ण छ ।” जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यवहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शिक्षक ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?