हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गरिने


काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार बिहान १० बजे हुने तयारी गरिएको छ । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यले बताए ।

“हामी बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारीमा छौँ,” वैद्यले भने, “सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान १० बजे बालुवाटारको ताज रिसेप्सनमा आईपीओ बाँडफाँट हुन्छ ।”

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । सोहीअनुसार कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका छन् ।

आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ । आवेदनको अन्तिम दिनसम्म तीन करोड २२ लाख १५ हजार कित्ता आईपीओ माग गरेका छन् । केही आवेदनहरू रद्द हुने भएकाले न्यूनतम १० कित्ता र त्योभन्दा बढी माग गर्नेहरूले ३० कित्तासम्म आईपीओ पाउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?