काठमाडौँ, ६ मङ्सिर : नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो । पोखरेल भने दश हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ ।
उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गर्नुभयो । उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला हुनुहुन्थ्यो । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ हुनुहुन्थ्यो ।
नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।” नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भन्नुभयो, “अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।” उहाँले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । (रासस)