राष्ट्रसंघीय शरणार्थी प्रमुख सुडानमा


सुडानमा रहेका प्राय सबैजसो दक्षिण सुडानी शरणार्थीको समस्याको बारेमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी प्रमुखले आगामी मङ्गलबार सुडानको भ्रमण गर्न लाग्नुभएको छ ।
सो कुराको जानकारी सुडानका एकजना अधिकारीले दिएका छन् । उनका अनुसार सुडानमा पछिल्लो समयमा शरणार्थीको अवस्था अत्यन्तै नाजुक भएकोले उनीहरुको अवस्था अध्ययनका लागि उहाँले सुडानको भ्रमण गर्न लाग्नुभएको हो ।
सुडानको शरणार्थी आयोगका प्रमुख हमिद अल जिजुलीले आइतबार विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ– यहाँ शरणार्थीको अवस्थाको अध्ययन गरी उनीहरुलाई गर्न सकिने सहयोगका बारेमा परामर्श गर्न उहाँ यहाँ आउदै हुनुहुन्छ ।
त्यस भ्रमणका क्रममा उहाँले सुडानका विदेशमन्त्री, यहाँका गृहमन्त्री, प्रधानमन्त्री र अन्य अधिकारीहरुसँग भेटवार्ता र शरणार्थी समस्या समाधानका लागि आवश्यक परामर्श गर्नुहुने बताइएको छ ।
हाल सुडानमा दक्षिण सुडानका र अन्य देशका गरी कम्तीमा पनि छ लाख शरणार्थी रहेका छन् । उनीहरु सुडानका विभिन्न चार वटा राज्यमा छरिएर बसेका छन् । सुडानले ती शरणार्थीका लागि गास बासको समस्या भएको यसअघिदेखि नै बताउदै आएको छ ।
दक्षिण सुडानमा बढ्दो हिंसा र आतङ्कका कारण सुडानमा शरणार्थी समस्या बल्झिएको छ । दक्षिण सुडानबाट सीमा पार भएर शरणार्थीहरु सुडान छिर्ने गरेका बताइएको छ ।
गएका केही बर्षयतादेखि दक्षिण सुडानमा हिंसा भड्किएको छ । जसका कारण ठूलो सङ्ख्याका शरणार्थी यहाँ आउने गरेका छन् । उनीहरु आधारभूत आवश्यकताबाट पनि बञ्चित हुनुपरिरहेको अधिकारीहरुको भनाई छ । रासस, सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?