वन रक्षक शाहीको परिवारलाई तीस लाख सहयोग


काठमाडौँ, २ भदौ । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई वन विभागले करिब ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले बिहीवार काठमाडौंम शाहीकी पत्नी पवित्रा शाहीलाई २९ लाख ७० हजार ४ सय ५९ रुपैयाँ ७४ पैसाको चेक हस्तान्तरण गरेका हुन् । जाजरकोटको छेडागाउँ नगरपालिका–५ का शाहीको २०७३ को पुस १७ मा सामुदायिक वनको सिमाना सर्भे गर्दै गर्दा स्थानीय टेकबहादुर लिम्बुबाट हत्या भएको थियो । लिम‍्बुलगायत स्थानीय बासिन्दाले वनको जग्गा मिच्न खोजेपछि वन रक्षकले रोक्न खोजेका थिए । सोही बेला धारिलो हतियार प्रहार गरी शाहीको हत्या गरिएको थियो । उनको हत्यामा संलग्न लिम्बु आजिवन काराबासको फैसला भइसकेको छ ।

शाहीका नाबालक दुई छोरा र एक छोरीको पठन–पाठनलाई सहयोग पुगोस् भनेर वन विभागले सहयोग जुटाएको महानिर्देशक आचार्यले बताए । यसअघि जिल्ला वन कार्यालय, ताप्लेजुङले एक लाख ११ र वन कार्यालय जाजरकोटले करिब ३ लाख रुपैयाँ उपलव्ध गराएको थियो । ुवनमा काम गर्ने कर्मचारीको मनोबल बढोस् भनेर सहयोग जुटाइएको होु, आचार्यले भने, ुबिगतमा पनि यस्ता धेरै घटना भएका उदाहरणहरु छन् ।ु

जिल्ला वन कार्यालयहरुका कर्मचारीबाट रकम संकलन गरेर विभागले शाही परिवारलाई सहयोग गरेको हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले शाहीलाई ‘संरक्षण सहीद’ घोषणा गर्दै १० लाख रुपैयाँ उपलव्ध गराएको थियो । उक्त रकम शाहीको परिवारले प्राप्त गरिसकेको छ ।

हत्या भएको दोस्रो दिन नै तत्कालिन वनमन्त्री शंकर भण्डारीले परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्दै वन कार्यालयमा जागिर दिलाउन वन विभागको ध्यानाकर्षण गराएका थिए । विभागले पवित्रालाई नजिकको वन कार्यालयमा करारमा जागिर उपलव्ध गराएको महानिर्देशक आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?