बाढीपीडितलाई राहत बाँड्दै प्रधानमन्त्री देउवा


काठमाडौँ, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्य र सुदूरपश्चिमका तीन जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गर्नाका साथै प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीले बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैया डाँडा, बर्दियाको कोठिया गाउँ र कैलालीको टीकापुरमा बाढीबाट विस्थापितसँग साक्षात्कार गरी राहत सामग्री वितरण गरेका हुन् । प्रधानमन्त्रीले कमैयाडाँडामा बाढीबाट आफ्ना ११, नौ र सात वर्षका तीन छोरी गुमाएका कमिलाल थारुलाई रु छ लाखको चेक र राहत सामग्री हस्तान्तण गरे ।

प्रधानमन्त्रीले देउवाले बाढीबाट धनजन गुमाएकाहरुलाई क्षतिपूर्ति रकम र घर बनाउन निश्चित रकम दिइने घोषणा गरे । उनले भने, “अहिले तत्काल अस्थायी बासस्थानका लागि केही रकम निकासा गरिसकिएको छ, छिट्टै तपाईंहरुले पाउनुहुने छ ।”

यस्तै प्रधानमन्त्रीले बर्दियाको गुलरिया नगरपालिकाको बाढी प्रभावित वडा नं ८ को कोठिया गाउँमा पनि बाढी प्रभावितसँग साक्षात्कार गरी राहत वितरण गरे । प्रधानमन्त्रीले बाढीको दीर्घकालीन र तात्कालीन समाधानका लागि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिए । सरकारले घाइतेको निःशुल्क उपचार व्यवस्था गरेको बताउँदै उनले बाढीले घर बगाएकाहरुलाई पनि सरकारले निर्णय गरेर रकम निकासा गरिने छ भन्नुभयो । त्यस्तै टीकापुरमा पनि प्रधानमन्त्रीले पीडितसँग साक्षात्कार गरेर राहत वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?