क्यानका पूर्व अध्यक्ष शाहको निधन


नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उहाँलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो ।
शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गर्नुभएको थियो । उहाँले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गर्नुभयो । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुन थालेको हो ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताउनुभयो । कार्यथलो बैतडीमा रहनुभएका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताउनुभयो । “क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उहाँले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याईपु¥याउनु भएको हो,” अध्यक्ष चन्दले भन्नुभयो ।
शाहको नाममा उहाँ जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो । सो प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो । उहाँ एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत रहिसक्नुभएको छ ।
गत भदौ ६ गते काठमाडौँमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
“९६ वर्षसम्म त बाँच्छु होला,” सम्मानित भएपछि साधारणसभामा मन्तव्यका क्रममा शाहले भन्नुभएको कुरा स्मरण गर्दै अध्यक्ष चन्दले भन्नुभयो । शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाउनुभएको थियो । उहाँ क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्नुहुन्थ्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । उक्त पुरस्कार पाउने उहाँ पहिलो नेपाली हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?