बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार


जेनेभा,आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ ।

गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या छ लाख नाघेको हो ।

उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थी शिवीरहरु बनाइदिएको छ ।

शुक्रबार जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा आइओएमका प्रवक्ता जोल मिलम्यानले सो जानकारी दिए । उनले ती शरणार्थीहरुको अवस्था भने अत्यन्तै कष्टकर रहेको बताए ।

निकै साँघुरो ठाउमा उनीहरुलाई राखिएको, आवश्यक मात्रामा आधारभूत आवश्यकताको पनि उनीहरुमा आपूर्ति हुन नसकेको, उनीहरुको संख्या धेरै भएका कारण जनघनत्व बढीहुदा निकै कठिन भएको र सडक र बिजुलीको पनि आवश्यक प्रबन्ध हुन नसकेकोले गर्दा उनीहरुलाई गाह्रो भएको उनले बताए ।

यसका लागि विश्व समुदायसँग आग्रह भएको भए पनि आवश्यक मात्रामा उनीहरुले सरसहयोग पाउन नसकेको गुनासो पनि उनले सो पत्रकार सम्मेलनमा गरे ।

बालबालिकाको अवस्था एकदमै टीठलाग्दो देखिएको, उनीहरुलाई पोषणयुक्त खानेकुराहरु नभएको र औषधि उपचारको समेत कमी हुने अवस्था देखिएको पनि उनले बताए ।

सडकको अभावका कारण आवश्यक सहायता सामाग्री पुर्याउन समेत गाह्रो भएको अनुभव उनले पोखे । बृद्धबृद्धाहरुले पनि निकै अप्ठेरोगरी जीवन गुजारा गरिरहनु परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?