३७ वर्षपछि मुगावे शासन अन्त्य


जिम्बावेमा झन्डै चार दशक शासन गरेका राष्ट्रपति रोबर्ट मुगावेले मंगलबार राजीनामा दिएका छन् । पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद उत्पन्न भएपछि उनी सत्ता छाड्नु परेको हो । सत्तारुढ दल जानु–पिएफले मुगावेलाई ‘सोमबारसम्म राजीनामा नदिए महाभियोग सामना गर्न’ चेतावनी दिएको थियो। महाभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसदका नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले बताएका छन् । मुगावेले पठाएको राजीनामापत्र सभामुखले संसदमा पढेर थिए । पत्रमा उनले ‘तत्काल लागू हुने गरी’ राजीनामा दिएको बताए छन्। राजीनामाका कारण ‘जिम्बावे जनताको भलाइ’ र ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ भनिएको छ । ९३ वर्षीय मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख थिए।
उनको राजीनामा लगत्तै संसदले खुसी मनाएको थियो । स्थानीय जनता पनि विजयोत्सव मनाउन सडकमा आएका थिए । पत्नीलाई उत्तराधिकारीका रूपमा अघि बढाउने मनसुबा देखाएपछि सत्तारुढ दल जानु–पिएफले सोमबार मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गरेको थियो । त्यसको भोलिपल्टै महाअभियोग प्रस्ताव अघि बढ्यो । राष्ट्रप्रमुखलाई महाअभियोग लगाएर हटाउन सकिने यो संवैधानिक प्रावधान यसअघि जिम्बावेमा कहिल्यै प्रयोग गरेको थिएन ।
मंगलबार महाअभियोग प्रस्तावमाथि संसदीय प्रक्रिया चलिरहँदा सभामुखले बीचैमा रोकेर मुगावेको राजीनामा पढेर सुनाएका थिए । उनले आफ्ना सहयोगीको हातमा उक्त पत्र पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?