प्रचण्ड र ओलीको जनभावना विपरित किचलो


डा. उदय गुरुङ
‘महा निर्वाचन–७४ बाट ‘वाम गठबन्धन’को सुविधा जनक बहुमत आएको नेपाली जनता राजनीतिको फोहोरी सत्ता उठापटक बाट वाक्क दिक्क भएर विकास चाहिं रहेका छन् भन्ने प्रमाण हो । त्यसो हुँदा ‘वाम गठबन्धन’ का चुनाव जितेर सरकार चलाउने हैसियतमा पुगेका सांसदहरु या नेतृत्वहरुले विकासको आगामी महा अभियानमा बाधा पुग्ने गरि कुनै पनि राजनीतिक बखेडा झिकेर किचलो गर्नु ‘जनभावना’ विपरित हुनेछ । त्यसले प्रकारान्तरले ‘वामगठबन्धन’ लाई नै छवीमा दाग लागि रहेको हुनेछ र मतदातामा विस्तारै विस्तारै बेकारमा भोट दिइएछ भन्ने भावना घर गर्न थाल्ने छ । यो तथ्य प्रति ‘वाम गठबन्धन’ का मित्रहरु बेलैमा सजग रहेका भने देखिएन ।
‘वाम गठबन्धन’ लाई प्रत्यक्ष तर्फको निर्वाचन परिणामले अलिकति उत्तेजीत तुल्याइ दिएको साँचो हो । मतगणना प्रारम्भ हुन अघिसम्म मुस्किलले ‘वाम गठबन्धन’ बहुमत पु¥याउला या न भए ठूलो दल बन्ला भन्ने नै आम धारणा थियो । यो तथ्य वाम गठबन्धनका नायकद्वय एमाले अध्यक्ष खड्ग ओली र माओवादी केन्द्र कमाण्डर कमरेड (मिष्टर) प्रचण्डका अन्तवार्ताहरुमा पनि झल्कन्थ्यो । के साच्चै दुई तिहाइ बहुमत आउँछ त भन्ने प्रश्नमा ‘दुई तिहाइ न आए पनि सुविधाजनक बहुमत भने अवश्यक आउँछ’ भन्थे । यसो भन्दा तर निर्णयत जनताकै हातमा छ भन्ने पनि उनीहरुको टिपपणी रहने गर्दथ्यो । अपेक्षा के गरिएको थिएन भने ‘माओवादी केन्द्र’ कांग्रेसभन्दा पनि अगाडि (प्रत्यक्षतर्फ) देखिएला । तर जब प्रत्यक्ष तर्फको मत गणना सकियो त कांग्रेस नेतृत्वको ‘लोकतान्त्रिक गठबन्धन’ को सातो गएको जस्तो देखियो । त्यस गठबन्धनका दुई नायक कमल थापा र पशुपति शम्शेर नै चुनाव हारे । पाँच वर्षका लागि कसैले हल्लाउन न सक्ने सरकारको नेतृत्व गर्न पाउने ढुक्क भएपछि ‘वाम गठबन्धन’मा अलिकता उत्तेजना आउन म त्यति अस्वभाविक पनि ठान्दिन । तर समानुपातिकको निर्णय आएर एमालेभन्दा ४५ हजार मतले मात्र कांग्रेस पछाडि रहेको प्रमुख प्रतिपक्षीको सातो फर्किएको देखेपछि पनि ओली र प्रचण्ड उत्तेजनामै रही रहेका भेटिनु चाहिं दुर्भाग्यपूर्ण हुने निश्चित छ । वाम गठबन्धनको पछिल्लो पत्रकार सम्मेलन र संयुक्त वक्तव्यका बेहोरोले भने ओली र प्रचण्ड अझै उत्तेजनाबाट ओर्लन नसकेका पुष्टि हुन्छ ।
समानुपातिक तर्फको लगायत जब सम्पूर्ण मत परिणाम आयो त बाम गठबन्धनले भावी सरकारको नेतृत्वको हैसियतले सरकार निर्वाचन आयोग, सम्पूर्ण सुरक्षा निकायका अङ्गहरु र खास गरी आम मतदातालाई धन्यवाद टुक्राउन पत्रकार सम्मेलन संयुक्त विज्ञप्ति हुनु एकदम स्वाभाविक औपचारिकता हो । त्यसमा कतैबाट अन्यथा टिप्पणी हुनु माधवकुमार शिष्य रघु पन्त र प्रचण्ड शिश्य खगेन्द्र संग्रौलाका टिप्पणी जस्ता मात्र हुन पुग्छन् । मेरो प्रश्न प्रचण्ड र ओलीले पत्रकार सम्मेलन गरे भन्ने सन्दर्भमा हुँदै होइन् । मेरो प्रश्न त त्यस पत्रकार सम्मेलनमा यत्रो बहुमत ल्याएर प्रधानमन्त्रीका दावेदार बनेका ओली र प्रचण्डले जे बोले त्यसलाई लिएर हो ।
अहिले यतिखेर राष्ट्रिय सभाको चुनावलाई लिएर प्रचण्ड र ओली जे अडान अगाडि सारिरहेका छन्, एकदम गलत गरिरहेका छन् । जनताको विकासको गतिमा छिटोभन्दा छिटो प्रवेश गरिहाल्नु पर्ने चाहनामा कुठाराघात हुने कुरो गरिरहेका छन् । शेरबहादुर देउवा भन्छन् राष्ट्रियसभा सहितको संसदले पूर्णता नपाएसम्म प्रधानमन्त्रीबाट राजीनामा दिन्न । अर्कोतर्फ राष्ट्रियसभाको निर्वाचनका लागि चाहिने आवश्यक विधेयक ‘वाम गठबन्धन’ कै इशारामा राष्ट्रपति विद्यादेवी भण्डारीको सिरानीमा थन्किएको छ । यस्तो किन भइरहेको छ भने दुई चार सिट आफूलाई बढी हुने हिसावले कांग्रेसले विधेयक लागेको छ भने एमालले आफूलाई दुई चार सिट बढी आउने विेधयक ल्याउन चाहि रहेको छ । यसै रस्साकसीमा प्रचण्ड धर्म संकटमा परेका छन् र सम्पूर्ण राजनीतिका मिडिया वहस प्रधानमन्त्रीको कुर्सीको सवालमा केन्द्रीत भएको छ। जुन ०४६ सालयता सुन्दा सुन्दा कान पाकेर नेपाली जनता वाक्क दिक्क भएका छन् । त्यसै कारणले नै एउटा स्थिर सरकार आए विकास हुन्थ्यो कि भन्ने आशाले जनताले वामगठबन्धनलाई भोट दिएका थिए ।
तात्पर्य कमरेड प्रचण्ड र ओली मिष्टर शेरबहादुर देउवासँग ‘एकल संक्रमणीय कि ‘बहुमतीय’ भनेर राष्ट्रिय सभाका लागि जुन बखेडा पौठेजोरी खेलिरहेका छन्, त्यो कुनै पनि हालतमा जनताले रुचाएका छैनन् । ईश्वर पोखरेल र नारायणकाजी शैलीमा ओली प्रचण्ड उफ्रनु सुहाउँदैन । राष्ट्रिय सभामा भोलि कांग्रेसका बढी आए पनि एमालेका बढी आए पनि तिनीहरु आखिर विकास अभियानकै सहयात्री हुने हुन । यस्तो भावना राखेर प्रचण्ड र ओलीले हिड्नु पर्छ र तुरुन्त राष्ट्रपतिको सिरानीमा थन्किएको विधेयक कार्यन्वयनमा जानुपर्छ ।
जहाँसम्म शेरबहादुर देउवाको प्रश्न छ, दुई चार महिना बखेडा झिकेर फजिति व्यहोर्नु केही फरक पर्दैन । उखानै छ ‘बिग्रेको मानिसको भत्केको घर, भत्केपछि के को डर’ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?