रुपन्देही जिल्ला फुटबल संघमा केसी


बुटवल: रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी हुनुभएको छ ।
उहाँले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्नुभएको हो । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी हुनुभएको हो ।
एन्फाले माघ ५ गतेसम्म चुनाव गर्न ४५ वटा जिल्लाका संघलाई निर्देशन दिएको थियो जसअनुसार चुनाव भएको रुपन्देही नवौँ जिल्ला हो । जिल्ला अधिवेशन सकिएपछि चैत १४ गते एन्फाको चुनाव हुनेछ ।
सोमबार राति भएको चुनावबाट संघको उपाध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि), मुकेश कुँवर र खेमराज गुरुङ विजयी हुनुभएको छ ।
सदस्यमा होम गलामी, सोमबहादुर थापा (सुरज), पदमबहादुर थापा (अशोक), जुक्तबहादुर थापा, मनोजकुमार थापा, इसान भण्डारी, शंकर मल्लाह र प्रेम राना विजयी हुनुभयो । संघको पहिलो बैठकले महासचिव, सचिव र कोषाध्यक्ष मनोनीत गर्नेछ ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलग्रामको रुपमा विकास गर्ने उपमहानगरको योजना रहेको बताउनुभयो ।
एन्फाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणि कुँवरले रुपन्देही जिल्ला फुटबलमा सम्भावना बोकेको क्षेत्र भएको भन्दै सहयोगका लागि एन्फा तयार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?