इरानमा सरकारको समर्थनमा पनि प्रदर्शन


तेहरान: इरानभर विभिन्न शहरमा बुधबार सरकारको समर्थन गर्दै लाखौँको सङ्ख्यामा प्रदर्शन गरिएको समाचार छ ।
बुधबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका विभिन्न शहरमा जम्मा भएका लाखौँ नागरिकले आफूहरुले सरकारलाई जे जस्तो सहयोग परे पनि गर्न तयार भएको जनाएका थिए ।
इरानमा करिब छ दिनदेखि सरकारको विरोधमा प्रदर्शन भइरहेको थियो । सरकारले भने सो प्रदर्शनमा विदेशीहरुको हात रहेको बताउँदै आएको थियो ।
बुधबार इरानका विभिन्न शहरमा जम्मा भएका सरकार पक्षीय प्रदर्शनकारीहरुलाई सरकारद्वारा सञ्चालित टेलिभिजन च्यानलले देखाएको थियो ।
विभिन्न शहरमा जम्मा भएको भीडले नेता हामी तयार छौँ भन्ने नारासहित अहभाज, केर्मानसाह गोर्गान र अन्य क्षेत्रमा जुलुस निकालेको सो टेलिभिजनले देखाएको छ ।
विभिन्न शहरमा जम्मा भएका ती व्यक्तिहरुले सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको फोटो र इरानको झण्डा बोकेर प्रदर्शन गरेका छन् ।
हाम्रो शरीरका हरेक नशामा रहेको सबै रगत हाम्रा नेताको लागि समर्पित छ भन्नेजस्ता नाराहरु पनि उनीहरुले लगाएका समाचारमा जनाइएको छ ।
खामेनीले मङ्गलबार दिनुभएको एक भाषणमा विदेशी शत्रुहरुले प्रदर्शनकारीलाई परिचालन गरेको भनि दाबी गर्नुभएको थियो ।
इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सङ्ख्या विगत छ दिनमा २१ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनुभएको थियो ।
मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हँुदै गएपछि हालसम्म २१ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।
प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ ।
इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न शहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?