नेताहरुको हाकाहाकी झुठ


डा. उदय गुरुङ
‘महानिर्वाचन २०७४’ सम्मन्न भयो । स्थानीय तह, प्रान्त र प्रतिनिधि सभा तीनै तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले नै सफल भयो । विप्लव समूहले अलि अलि छिटपुट विध्वंस मच्चाएर चुनावलाई विथोल्ने प्रयास विथोल्ने प्रयास गरेका थिए । तर त्यो उनीहरुको प्रतिकात्मक विरोध मात्र थियो । चुनावले कस्तो राजनीतिक समीकिरण र चरित्र र प्रवृत्तिहरु स्थापित गर्छ, त्यो हेर्नु उनीहरुलाई पनि आवश्यक थियो । आम जनताले भने अत्यन्तै ठूलो आशा र भरोसा राखेर मतदानमा भाग लिए। जनताले ठूलो उत्साह देखाएर मतदानमा भाग लिनु एकदम स्वाभाविक थियो । ०४६ को प्रजातन्त्र आइसकेपछि र अझ ०६३ को गणतन्त्र आएर ०७२ को नयाँ संविधान आउनु अघिको राजनीतिक अस्थिरताका कारण मुलुक यति धेरै बर्बादीको खाडलतिर जाकिदै थियो कि आम जनता कोलाहल र त्राही माम मच्चाउनु पर्ने अवस्थामा पुगेका थिए । राज्यसत्तामा तस्कर, माफिया, कालो बजारिया, घुस खोर भ्रष्टाचारहरुको पूर्ण रुपको अधिपत्य कायम भएको थियो । उदाहरणका लाग धेरै टाढा जानै पर्दैन । अस्ति भर्खरै भूकम्पपीडितको सहायताका लागि आएको करोडौं मूल्यको खाद्यान्न लगायतका सामग्री गोदाममा कुहिएर जलाउनु परेको नुवाकोटको घटनालाई लिन सकिन्छ । ०४६ को प्रजातन्त्र आइसकेपछि यताका गिरिजा देउउवा सरकारका सम्पूर्णकालखण्डका अर्थमन्त्री जसलाई बेलायतको एउटा लोकल पत्रिकाले नेपालका एक नम्बरका अर्थमन्त्री भनेर लेखि पनि दिएको थियो । डा. रामशरण महत चुनाव किन हारे ? भन्ने सामाजिक संजालमा यस्तो तथ्य किन आउँदैन, खोजेकै विषय छ अहिले अस्ति पूर्णिमा देखि स्वास्थानी ब्रतकथा चल्दैछ । त्यहाँ हजार जिब्रा भएका शेष नागले पनि बर्णन गर्न नसक्ने भन्ने एउटा प्रसङ्ग आउँछ । त्यस्तै हामी कहाँ बेथिति, राज्यविहीनता र लुटतन्त्रका हजार जिब्रा भएका शेष नागले पनि बर्णन गर्न नसक्ने अगगिनत उदाहरणहरु छन् । तर भूकम्प पीडितका लागि भनेर कति हण्डर कष्ट झेलेर मानवीय भावनाले ओतप्रोत भइ जम्मा भएको करोडौको मूल्य बरारबको राहत सामग्री दुई वर्षसम्म गोदाममा पानीले भिज्दै कुहेर रोग फैलिने भएपछि आगो लगाएर खरानी तुल्याइएको भनेपछि राज्य सत्ता कहाँ क्याप्चर रहेछ भन्ने कालजथी उदाहरण हो । स–शस्त्र बलको हेडक्वाटरमा अख्तियारले मागेका लेखाका फाइललाई मट्टितेल खनाएर खरानी तुल्याइएको भन्दा पनि राहत सामग्री खरानी तुल्याइएको घटना ज्यादै नै मार्मिक र कालान्तर सम्मलाई प्रमाण हो । यसमा अझ मार्मिक र खतर्नाक प्रश्न त कहाँ छ भने ल भइहाल्यो राज्यसत्ता त पूर्ण रुपमा लुटाहा, तस्कर, भ्रष्टाचारीहरुको नियन्त्रणमा थियो रे । तर जनताका लागि काम गरिरहेका छौं भन्ने ठूला ठूला राजनीतिक दलहरु र तिनका नेता कार्यकर्ताहरु चाहिं कस्को नियन्त्रणमा थिए कि त्यो खेरगएको राहत सामग्री भोक र जाडोले कल्पीरहेका भूकम्पपीडितका पेट र आङसम्म पु¥याउन सकेनन ?
तात्पर्य यस्तो पृष्ठभूमिले जनता दिग्दार र हैरान रहेका बखत ‘महानिर्वाचन–०७४’ अगाडि आइपुगेको हुँदा ऐतिहासिक उत्साह देखाएका हुन् । जनताले के आशा राखे भने यस पटकको चुनावबाट जितेका नेताहरुले झुठो बोलेर झुक्याउने नगर्लान कि ? इमान्दारी पूर्वक आफ्ना परिवार आसेपासेका लागि मात्र न भएर देश र जनताका लागि हित हुने पनि अलिकति काम गर्लान कि ? भन्ने विचार लिएर नै मतदान गरेका देखियो । कस्तोसम्म देखियो भने उच्च हिमाली पहाडी भेगको मंसिर महिनाको सिरेटोले चारकोससम्म लुग लुग काप्दै नाती पनातिको पिठ्यूमा बोकिएर ११५ वर्ष उमेरकाले पनि भोट हाले । यस्तो उदाहरण भनेको जनताले राजनीतिमा सुधारको धेरै ठूलो अपेक्षा राखेका छन् भन्ने प्रमाण हो । संविधानको कुन धारा उपधारामा के लेखेको छ भन्दा पनि आम जनतालाई ज्यादा सरोकार हुने भनेको दलहरु र तिनका नेताहरुले झुठो बोलेर भुक्याउने काम त नगरुन् । भ्रष्टाचारी र कालोबजारीयाहरुको भरिया भएर महंगी र बेरोजगारी बढाएर दुःख दिने काम न गरुन भन्ने मा नै ज्यादा सरोकार हुन्छ । यस पटकको चुनावमा यस्तै अपेक्षा राखेर नै भोट हालेका छन् । तर विडम्बना निर्वाचित भएर आएका सांसदहरुले भने भात खाने त आफू मात्रै जनता चाहि घाँस खान्छन झै गरेर हाँका हाँकी कुनै लाज शरम र जनताको चेतनालाई कुनै वास्ता नगरेर झुठ बोलिरहेका, झुठा विवरण पेश गरि रहेका भेटिएका छन् । यसमा नाम उच्चारण गरिरहनुको कुनै अर्थ छैन । मिष्टर प्रचण्डदेखि कमरेड ओलीसम्म वीपी पुत्र गणेशमान पुत्र सबैले झुठो बोल्ने बेइमानी विकृतिलाई जुँगा मुसारेर हाँसी हाँसी संस्कृति बनाएका छन् । निर्वाचन आयोगलाई चुनाव खर्चको हिसाब बुझाउँदा सबैले कसैले २० लाख कसैले २५ लाख र कसैले ३० लाखसम्मको विवरण फारमभरेका छन् । जब कि १० करोड २० करोडसम्म खर्च भएको मध्यान्नको घाम जतिकै या पूर्णिमाको जुनजत्तिकै अधिराज्यका सबै जनसमुदायले छर्लङ्ग देखेका भेटेका छन् । एउटा पनि त्यस्तो विजयी उमेदवार भेटिएको छैनन् जसले साचो कुरा गरेर धनीको मात्र चुनाव भइरहेको विकृतिबाट माथि उठ्ने जागरण आन्दोलन उठाउन थालेका होस् । थालेका त कुरै छोडि दिउँ, सोचेकोसम्म पनि पाइएको छैन । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?