मत्स्येन्द्रनाथ जात्राको तयारी शुरु


ललितपुर: छ महिनासम्म बुङ्मतीमा रहेको मत्स्येन्द्रनाथलाई पाटन ल्याइएसँगै जात्राको तयारी शुरु भएको छ ।
रथका लागि आवश्यक काठ, बेत, बाँसलगायत ठेक्का गर्ने, काट्ने, ल्याउने काम भइरहेको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “काठ, बेत ल्याएपछि सम्बन्धित जातिले काट्ने काम हुनेछ ।” मङ्सिर महिनामा मत्स्येन्द्रनाथ पाटन ल्याइएपछि केही पर्व त्यही महिनामा परे पनि पुस महिनामा भने पर्दैन । माघ महिनामा धेरै खालका पर्व हुनेछन् ।
ललितपुरको देवीचौरबाट धमा(रथको अघिल्लो पांग्राको काठ) का लागि काठ काटिसकिएको छ । अरु आवश्यक काठ गोदावरीको जंगलमा छपान भइसकेको प्रमुख पौडेल बताउनुहुन्छ । माघ महिनामा बोसीलाई काट्न पठाइनेछ । बेत भने भारतबाट ल्याइनेछ । भारतबाट बेत ल्याउनका लागि पाँच वर्षको ठेक्का भइसकेको छ । उहाँ भन्नुहुन्छ, “केही समयमा बेत पनि नेपाल भित्रनेछ ।”
साइत हेरेर बाराही जातिले काठ काट्ने गर्छ । काठका लागि विभिन्न स्थानका जंगलमा पुग्नुपर्छ । कुनै ललितपुरकै जंगलमा त कुनैका लागि तराई र कुनै भारतबाट ल्याउनुपर्छ । धमाका लागि ६०÷७० वर्ष पुरानो सौर जातिको रुख चाहिन्छ । धमा ४८ फि लम्बाइको हुनुपर्छ । थामका लागि लाँकुरी, ब्रेकका लागि मयल, ब्रेकको बिँडका लागि आरुको हाँगा र अरुका लागि फलाँठ जातिको काठ चाहिन्छ । रथमा झण्डै ५० फिटको लस्सी जातको काठ आवश्यक पर्छ ।
छ महिनासम्म चल्ने जात्राका लागि कार्यालय भने वर्षभर नै जात्रासँग जोडिरहन्छ । जात्रा शुरु हुनु पहिले तयारीमा लाग्ने गरेको कार्यालय जात्रा सकिएको केही समयपछिदेखि नै अर्काे वर्षको तयारीमा लाग्छ । जात्रामा पाटनका नेवारभित्रका विभिन्न जातको संलग्नता रहन्छ । जात्रावधिमा विभिन्न कामका लागि तोकिएका मानिसलाई रकमे भनिन्छ । रकमेका लागि खान्कीको समेत व्यवस्था रहेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?