युक्रेनको अदालतद्वारा जर्जियाको पूर्व राष्ट्रपतिलाई नजरबन्दको आदेश


किभ: किभको पुनरावेदन अदालतले जर्जियाका पूर्व राष्ट्रपति मिखाइल शाकासभिलीलाई रातिको समयमा नजरबन्दमा राख्न शुक्रबार आदेश दिएको छ । अदालतले शुक्रबार नै विज्ञप्तिमा जारी गरी सो जानकारी दिएको हो ।
अदालतले शाकासभिली हरेक राति १० देखि बिहान ७ बजेसम्म घरमै रहन आदेश दिएको छ । शाकासभिली युक्रेनी राजनीतिक पार्टीका नयाँ नेता हुनुहुन्छ । स्थानीय सञ्चार माध्यमहरुले उहाँलाई देश बाहिर र टेलिभिजनका कार्यक्रमहरुमा जान नदिनका लागि नजरबन्दको आदेश दिएको बताएका छन् । अघिल्लो महिना युक्रेनको प्रहरीले पनि उहाँलाई पक्राउ गरेर केही समयपछि छाडिदिएको थियो । उहाँलाई प्रहरीले आतङ्कवादी समूहसँग आबद्ध भएको र आतङ्कवादी गतिविधि गर्न सघाएको अभियोग लगाएको थियो ।
पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति हुनुभएको थियो । उहाँले सन् २०१५ को मेमा युक्रेनको नागरिकता लिनुभएको थियो र आडेसा क्षेत्रको गभर्नर नियुक्त हुनुभएको थियो । गत वर्ष युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले शाकासभिलीको नागरिकता खारेज गरिदिनुभएको थियो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?