सडक दुर्घटनामा तेह्रको मृत्यु


नयाँ दिल्ली: भारतको पश्चिमी राज्य महाराष्ट्रमा भएको एक सडक दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु भएको छ । बस नदीमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।
दुर्घटनामा परी १३ को मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले शनिबार जनाएका छन् ।
महाराष्ट्र प्रान्तीय राजधानी मुम्बईबाट ३७६ किलोमिटर दक्षिणतर्फ पर्ने कोल्हपुरमा रहेको पञ्चगंगा नदीमा शुक्रबार अबेर राति मिनीबस खसेको बताइएको छ ।
“गएराति एउटा मिनीबस पञ्चगंगा नदीमा खसेर भएको दुःखद दुर्घटनामा परी १३ को मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन्”, कोल्हपुर प्रहरी कार्यालयका एक अधिकारीले भने । उनले थपे “शिभजी पुलमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।”
गान्पातीपुलेबाट पुणे जाँदै गरेको मिनीबस स्थानीय समयानुसार शुक्रबार राति ११ः४५ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।
घटना भएको थाहा पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो भने थप अनुसन्धान पनि गरिरहेको छ । घटनाका पीडितहरु स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ ।
भारतमा यस्ता सडक दुर्घटनाहरु धेरै नै हुने गरेका छन् । विशेष गरेर यात्रुहरुको अत्यधिक चाप, सडकको खराब अवस्था र चालकको लापर्बाहीका कारण दुर्घटना हुने गरेको पाइएको छ ।
हालै सार्वजनिक भएको आधिकारिक सरकारी तथ्यांकअनुसार सन् २०१६ मा भारतमा सडक दुर्घटनाका कारण दैनिक ४०० भन्दा बढीको मृत्यु भएको छ । भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशका रुपमा पर्छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?