बस दुर्घटनामा परी ३५ जनाको मृत्यु


नयाँदिल्ली: भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।
“बसले ५० जना यात्रु बोकेको थियो, जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको,” एक वरिष्ठ प्रहरी अधिकृतले बताए ।
उनले थपे, “चालकले अर्को सवारी साधनसँग ठक्कर खानबाट बचाउन गाडीलाई अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस बारमा ठोक्किन पुगेको हो ।”
महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु छ जना पौडिएर बाहिर निस्केका प्रहरीले बताएको छ ।
घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?