प्रतिनिधि र प्रदेश सभाका सदस्यलाई सम्मान


नवलपरासी: नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट प्रतिनिधित्व गर्दै निर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यहरुले आफूहरु जिल्लाको चौतर्फी विकासको मुद्दामा एकजुट भई अघि बढ्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था उद्योग वाणिज्य संघ नवलपरासीद्वारा बुधबार परासीमा आयोजित नवलपरासीबाट प्रतिनिधित्व गर्दै निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरुका लागि आयोजित सम्मान कार्यक्रममा जिल्लाको विकासका लागि आफूहरु एकजुट भई लाग्नुपर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पश्चिमका हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल र पूर्वका तिलक महत एवं प्रदेश सभा सदस्य पश्चिमका वैजनाथ चौधरी, अजय शाही, वैजनाथ जैसवाल रर भगवती भण्डारी र पूर्वका विष्णु लामिछाने र ओमकला गौतमलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले प्रदेश समृद्धिका लागि निजी क्षेत्रले सम्भावनाका खाका बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, देवेन्द्रराज कँडेलले पर्यटन प्रवद्र्धनका लागि रामग्राम, पण्डितपुर विकास कोष स्थापना गराउन र त्रिवेणीधाम तथा मदारबाबा थानको विकास गरी यस क्षेत्रका पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सोही अवसरमा तिलक महतले नवलपरासीका औद्योगिक सम्भावना र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई अघि वढाउन प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा प्रदेश सभा सदस्यहरु वैजनाथ चौधरी, विष्णु लामिछाने, ओमकला गौतम, भगवती भण्डारी लगायतले यस क्षेत्र विकास लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा संघका अध्यक्ष एवं नवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले जिल्लामा भएका आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, कृषि, पर्यटकीय, औद्योगिक र पूर्वाधार विकास निर्माणका सम्भावनाबारे ध्यानाकर्षण गराउनु भएको थियो ।

निःशुल्क आँखा परीक्षण 
यसैबीच, नवलपरासी (बर्दघाट सूस्ता पश्चिम) जिल्ला कारागार, नवलपरासीमा रहेका कैदी तथा बन्दीलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
सो शिविरबाट २३२ कैदी तथा बन्दीको आँखा परीक्षण भएको आयोजक नेपाल नेत्रज्योति संघ नवलपरासीले जनाएको छ । संघको २८औँ साधारण सभा तथा अस्पताल दिवसका उपलक्ष्यमा बुधबार जिल्ला कारागार नवलपरासीमा रहेका कैदी तथा बन्दीलाई निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
सो क्रममा निःशुल्क आँखा परीक्षण आवश्यक औषधि, चस्मा समेत उपलब्ध गराइएको अस्पतालका अध्यक्ष मञ्जु कँडेलले जानकारी दिनुभयो । उक्त शिविरमा आठजना मोतियाबिन्दु भएका बिमारीलाई ४० हजार बराबरको निःशुल्क शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?