प्रजातन्त्र दिवसमा नेताहरुबाट शुभकामना सन्देश


काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना वक्तव्यमा उहाँले देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ सपुतले प्रजातन्त्र÷लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्नुभएको छ ।
फागुन ७ गते नेपाली जनसंघर्षको इतिहासको एक अविस्मरणीय दिन भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २००७ को कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गर्नुभएको छ । उहाँले देशमा केबल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूलरूपमा अग्रगामी परिवर्तन ल्याएको भन्दै जातजाति, धर्म, लिङ्ग वा वर्गका आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको बताउनुभएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष राणाले आज विज्ञप्ति जारी गरेर प्रजातन्त्रप्राप्तिका लागि प्राण उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि दिनुभएको छ । मुलुकमा स्थापित राजनीतिक प्रणालीअनुसार राज्यको सबै तहमा निर्वाचित जनप्रतिनिधि बहाल भइसकेको अवस्थामा देशको समृद्धि र जनताको विकासका लागि दल क्रियाशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैबीच, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि आज विज्ञप्ति जारी गरी उक्त दिवसले मुलुकको राष्ट्रिय अखण्डताको रक्षा गरी समृद्ध नेपाल बनाउने विषय सबै दलको साझा मुद्दा निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?