ओरालो लाग्यो सेयर बजार


काठमाडौं : नेप्से सूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहप्रद देखिएको छ । मंगलबार नयाँ अर्थमन्त्री आएसँग बजार सकारात्मक भए जस्तो देखिएको थियो । तर यसले बुधबार निरन्तरता पाउन सकेन ।
संघीय र प्रदेश सरकार गठन र राजनीतिक स्थिरतासँगै पुँजी बजार उकालो लाग्ने अपेक्षाविपरीत झन् ओरालोतर्फ लागेको छ । बजारमा आएको उतारचढावले गर्दा लगानीकर्ता हतोत्साही भएका छन् । नेप्से सूचकसँगै कारोबार रकमलाई पनि नियाल्नुपर्ने हुन्छ । विगत केही दिन सूचकमा धेरै उतारचढाव भए पनि कारोबार रकम भने राम्रो हुँदै आएको थियो । कारोबार रकम धेरै हुनुले बजारमा क्रेता र बिक्रेताको उपस्थिति पनि राम्रै थियो । कारोबार रकममा सुस्तता आएको भए बजारमा खतरनाक अवस्था आउने छ छ । बजारमा तरलता अभावले पिरोलेको छ । बैंकहरूले बचतमा बढाएको ब्याजदरलाई हेर्दा तत्काल तरलता अभाव समाधान हुने छाँटकाँट छैन । तरलता समस्याको उचित उपाय भए मात्र बजार उकालो लाग्न सक्ने अवस्था आउने छ । बुधबार बजार १८.८२ अंकले घटेर १३४५.९९ विन्दुमा आएको छ ।
समग्रमा बजार १.३८५ ले रातो भएको हो । कुल १ सय ६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १३ लाख ३७ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भएका छन् । कारोबार भएका १० वटै समूहका सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै इन्सुरेन्स समूहको सूचक १५१.२२ अंकले घटेको छ । हाइड्रोपावर समूहमा २८.७८ अंकले रातो भएको छ । यसैगरी वाणिज्य बैंक समूह पनि १४.२९ अंकले ओरालो लागेको छ । कारोबार रकमका आधारमा प्रभु बैंक अघि आएको छ । प्रभुको ६ करोड ४ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रो र तेस्रो स्थानमा भने क्रमशः प्राइम लाइफ इन्सुरेन्स र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?