विष्फोटक पदार्थसहित पक्राउ


काठमाडौँ : प्रहरीले विष्फोटक पदार्थसहित यहाँ एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जाँचका क्रममा गएराति धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नं को बसमा यात्रा गरिआएका दैलेख नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
शाहीले झोलामा राखेर ल्याएको डेटोनेटर ४४ थान, लोला १२ थान, ‘सेफ्टीफ्युज’ २५ मिटर, कालो टेप दुई थान र रबरको गुलेली एउटा बरामद गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पक्राउ परेका शाही रसुवामा सडक निर्माणमा मजदुरको रुपमा काम गर्ने गरेको र सडक निर्माणका लागि ल्याएको विष्फोटक पदार्थ चोरेर हिँडेको अनुसन्धनाको क्रममा खुलेको जानकारी दिनुभयो । ठेकेदारले काम गरेबापत दिनुपर्ने रु ३१ हजार नदिएको झोंकमा आफूले विष्फोटक पदार्थ चोरेर भागेको बयान उनले प्रहरीसामु दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?