कांग्रेस संसदीय दलको नेतामा देउवा पुनः लड्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने आधिकारिक घोषणा गरेका छन् ।
पार्टी महामन्त्री शशांक कोइराला निवास बुधबार टोखामा आयोजित नवनिर्वाचित सांसदहरूका लागि बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा सभापति देउवाले उक्त घोषणा गरेका हुन् ।
उनले भने ‘संसदीय दलको नेतामा मेरो उम्मेदवारी रहनेछ’ ।
देउवाले घोषणासँगै कांग्रेसका नेताहरू आश्चर्यमा परेका थिए । हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकमा रामचन्द्र पौडेललगायत देउवाकै समर्थकहरूले पनि देउवालाई संसदीय दलको नेतामा चुनाव नलड्न सुझाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका अघिकांश सांसदहरूको उपस्थिति थियो ।
यता संसदीय दलको नेतामा देउवाविरुद्ध पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने बताउँदै आएका छन् । तर उनको औपचारिक घोषण भने हुन बाँकी छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी लगायतका नेताहरूले संसदीय दलमा देउवाको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।
महामन्त्री कोइरालाले भने सर्वसम्मत रूपमा आफूलाई दलको नेता बनाए हुने नत्र भने चुनाव नलड्ने यसअघि नै बताइसकेका छन् । कांग्रेसले संसदीय दलको निर्वाचन यही फागुन २१ गतेका लागि निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?