इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँदै


शेरबहादुर सिंह 
भीमदत्तनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ३१ वर्षीय दिनेश विक परिवारको आर्थिक अवस्था नाजुक भएका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो ।
पारिवारिक अवस्थाकै कारण एसएलसी पढ्दै गर्दा अध्ययन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्ति बनाउनतर्फ ध्यान केन्द्रित गरेका विक पछिल्ला वर्षमा विभिन्न देवीदेवताका मूर्ति बनाएर मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । “अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ”, उहाँले भन्नुभयो, “परिश्रम गरे विदेशिनु पर्दैन ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारका विकले आफूहरु तीन भाइ बहिनी अध्ययनमा रहेका बेला परिवारका कारण स्कूल छाडेको बताउनुभयो । “परिवारको अवस्था सुधारका लागि बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे”, विकले विगत सम्झिँदै भने, “तिनै भगवान्का मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।”
शुक्लाफाँटाको झलारी बजारमा मूर्ति र चित्रकला पसल थापेको पाँच वर्षमै उनले राम्रो आम्दानी भएको बताए । “धेरै नपढेको भए पनि इन्टरनेटमा मूर्ति बनाइने भिडियो हेरेरै मूर्तिको व्यापार बढाएको छु । विकले भने, “इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन । कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो । एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।”
नयाँ वर्ष र दशैँलगायत चाडपर्वका बेला मूर्ति धेरै बिक्री हुने गरेको उनले । “चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०÷७५ हजारसम्म बचत हुन्छ”, उनले भने, “एउटै मूर्ति रु एक लाख २० हजारसम्म बिक्री गरेको छु ।” आफूले सिमेन्टको तीन फिटभन्दा अग्ला मूर्ति बनाउने गरेको बताउँदै विकले धेरैजसो मूर्ति रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको जानकारी दिए । “शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे”, उनले भने “यही व्यापारबाट अहिले घर चलेको छ ।”
“अहिलेसम्म शिव–पार्वती, गणेश, कालिकालगायत देउताका मूर्ति बनाएर धेरै बिक्री गरेँ”, उनले भने, “अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने योजना बुनेको छु ।” झलारी बजारमा ‘सन्देश आर्ट’ नामक पसल सञ्चालन गरेका विकले दुई जनालाई रोजगारीसमेत दिएका छन् । उनले भने, “मैले बनाएको मूर्तिले ग्राहकबाट असन्तुष्टि सुन्नु परेको छैन ।”
सिमलफाँटामा अढाइ कट्ठा जग्गा भाडामा आश्रय लिँदै आएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग नपाएको गुनासो गरेको छ । “विस्थापित भएपछि परिचयपत्र त पायौँ अरु सहयोग केही छैन ।” उनले भने, “आश्वासनमै दशक बित्यो, राहत पाएनौँ ।” सानैदेखि कलात्मक चित्र बनाउन सौखिन विकले बजार पाउने मूर्ति बनाउन थालेको एक दशक भएको छ ।
“पहिले घरमै मूर्ति बनाएँ”, उनले भने, “अहिले आधुनिक मूर्ति बनाउने यहाँ अरु कोही भेटेको छैन ।” मूर्तिका लागि कञ्चनपुरका विभिन्न क्षेत्रसँगै बैतडी, डडेल्धुरा र कैलालीबाट समेत माग हुने गरेको उनको भनाइ छ । “राति पनि मूर्तिसम्बन्धी भिडियोहरु नेटमा हेर्छु”, विकले भने, “काममा लगनशील भएर लागे सफल हुन समय लाग्दैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?