वैदेशिक रोजगारबाट फर्किएका महिलालाई आत्मनिर्भर बनाउनुपर्ने


काठमाडौँ : वैदेशिक रोजगारबाट फर्किएका महिलालाई उपयुक्त सीप दिएर आत्मनिर्भर बनाउन आवश्यक रहेको सरोकारवाला निकायले जोड दिनुभएको छ ।
गैरआवासीय नेपाली संघद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी वक्ताले वैदेशिक रोजगारीका क्रममा विभिन्न किसिमको हिंसा भोगेर स्वदेश फर्किएका महिलाको जीविकोपार्जनका लागि पनि तालीमको खाँचो रहेको औँल्याउनुभयो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले वैदेशिक रोजगारमा जाने व्यक्तिले आफू कस्तो ठाउँमा काम गर्न जान लागेको हो, त्यसबारेमा जानकारी लिएमा दुःख नपाउने विचार व्यक्त गर्नुभयो ।
उहाँले वैदेशिक रोजगारमा जाने महिला तथा पुरुष सुरक्षित हुन् भन्ने उद्देश्यका साथ राहदानी दिने क्रममा काउन्सिल गर्ने गरेको जानकारी दिनुभयो ।
महानिर्देशक आचार्यले वैदेशिक रोजगारबाट फर्किएका महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने भन्दै उनीहरुलाई व्यवस्थित गर्न सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
आयोजकका अध्यक्ष भुवन भट्ट रोजगारका क्रममा दुःख पाएर फर्किएका महिलाका लागि सरकारले केही व्यवसाय गर्न सहुलियत ऋण प्रदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा महिला हकअधिकारका लागि लड्नुभन्दा पनि आर्थिकरुपमा कसरी सबल बनाउन सकिन्छ त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पौरखी नेपालकी प्रतिनिधि चाँदनी राणाले सरकारले वैदेशिक रोजगारका क्रममा देखिएको विभिन्न किसिमको समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै विशेषगरी घरेलु कामदारका रुपमा विदेशिने महिला हिंसामा पर्ने गरेको बताउनुभयो ।

घरेलु कामदारका रुपमा कुवेत पुग्नुभएकी दाङकी कमलादेवी घर्तीले निकै दुःख पाएर स्वदेश फर्किनुपरेको अनुभव सुनाउँदै सरकारले आत्मनिर्भरका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?