स्वास्थ्य शिविरबाट एकहजार लाभान्वित


बाबियाचौर, म्याग्दी: म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना गरेको शिविरमा एक हजार छ जना लाभान्वित भएको आयोजकले जनाएका छन् । शिविरमार्फत कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका बासिन्दालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।
शिविरमा साधारण स्वास्थ्य परीक्षणसँगै मधुमेह, स्त्रीरोग, इसिजी, दाँत, आँखा चेकजाँच र हाडजोर्नीसम्बन्धी स्वास्थ्य समस्या भएका सर्वसाधारणलाई विशेषज्ञ सेवा दिइएको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा रोशन न्यौपाने, डा नवराज बस्ताकोटी, भुषण सुवेदी, अमुदा रेग्मीलगायतको टोलीले सेवा दिएको थियो ।
भौगोलिक विकटता तथा आर्थिक अभावका कारण सदरमुकामको अस्पतालमा पुगेर सेवा लिन नसकेका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?