राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा


वासिङटन (एएफपी): अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरु उत्पन्न भएको बताइएको छ ।
यससम्बन्धी विवरणहरु पछिल्लो समयमा बाहिर आइरहेका बेला यता आर्थिक सल्लाहकारले नै राजीनामाको घोषणा गर्नुभएको छ । यस राजीनामालाई अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्पका सहयोगीहरुको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ । ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति हुनुहुन्छ । विशेषगरी उहाँसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उहाँले राजीनामाको घोषणा गर्नुभएको छ । त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो । सअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाहरुका मुख्य योजनाकारका रुपमा काम गर्नुभएको बताइएको थियो ।
राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिनुभएको छ । उहाँले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्तिभन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले कामगर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरु बढाउने नयाँ कार्यक्रमको घोषणा गर्नुभएको अर्काे एक समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?