फलामे खोरमा थुनिएका दाहालको उपचारका लागि सहयोग


आठराई, तेह्रथुम: आठराई गाउँपालिका–६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ ।
तेह्रथुम घर भई हाल साउदी अरबमा रहनुभएका रामचन्द्र मैनालीको अगुवाइमा संकलित रु ३६ हजार रकम दाहालको परिवारलाई आज हस्तान्तरण गरिएको हो ।
सहयोग रकम आठराई गाउँपालिका–६ का वडाध्यक्ष तेजमान कन्दङवा र वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटाले संयुक्त रुपमा उदयनारायणका बुबा चुँडामणि दाहाल र आमा मैना दाहाललाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष कन्दङवाले दाहालको उपचार र उद्धारका लागि वडा कार्यालयबाट पनि सहयोग उपलब्ध गराउने बताउनुभयो । साउदी अरब र नाइजेरियामा रहेका नेपालीले दाहालको उपचार र उद्धारका निम्ति आर्थिक सहयोग संकलन गरेका हुन् ।
वैदेशिक रोजगारीका क्रममा २०६३ सालमा दुबई पुग्नुभएका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किएपछि उपचारका लागि परिवारले रु पाँच लाख खर्च गरिसकेको छ । आर्थिक रकमको अभावमा थप उपचार गर्न परिवारले नसक्ने भएपछि ३४ वर्षीय दाहाललाई परिवारले पाँच वर्षदेखि फलामको खोरमा राखेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?