सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन


बैतडी: चालु आवकोे आठ महिना बित्नलाग्दासमेत जिल्लाका चारवटा स्थानीय तहले अझै पनि सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । जिल्लाको मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गरेका छैनन् । सामाजिक सुरक्षाभत्ता नपाएको भन्दै नागरिक निराश भएका छन् ।
सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई दुःख लागेको दोगडाकेदार गाउँपालिका–६ का हरिसिंह ऐरीले बताउनुभयो । “सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ”, उहाँले भन्नुभयो, “क वर्गको शारीरिक अपांगता भएको व्यक्ति हुँ, मैले आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ ।”
यस्तै सुर्नया गाउँपालिकाले पनि अहिलेसम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेको छैन् । अर्थमन्त्रालयले सामाजिक सुरक्षाभत्ताका लागि आवश्यक रकम निकासा नगर्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले जानकारी दिनुभयो । यस्तै मेलौली नगरपालिकाले पनि बजेट निकासा नहुँदा विकास बजेटबाट तत्कालका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । शिवनाथ गाउँपालिकाले पनि चालु आवको आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेको जनाएको छ । सामाजिक सुरक्षाभत्ताका बारेमा व्यापक गुनासो आएकाले विकास बजेटबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले भने विकास बजेटबाट पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गरिसकेका छन् । नागरिकको व्यापक जनगुनासोपश्चात् सामाजिक सुरक्षाभत्ता वितरण गर्न बाँकी रहेका स्थानीय तहले विकास बजेटबाट वितरण गर्ने तयारी थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?