टेकुमा आईएमई जनरल इन्स्योरेन्स


काठमाडौं: आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले टेकुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो कम्पनीको ३३ औं शाखा हो । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले गरेका हुन् । सो अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यको उपस्थिति रहेको थियो ।
समारोहमा स्थानीय उद्योगी, व्यापारीहरूलगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधि, सहकारी संस्थाका प्रमुख तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा बिमा समितिका अध्यक्ष चापागाईंले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, सञ्चालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । उनले बिमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाव दिए । उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तारका लागि सातवटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिति जनाई लघु बिमालगायत सम्पूर्ण निर्जीवन बिमा सेवा सहज रूपमा प्रदान गरी अग्रिणी बिमा कम्पनीको रूपमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न शुभकामना दिए ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए ।
कम्पनीको योसहित ३३ वटा शाखा तथा १० उपशाखा सेवा काउन्टरबाट सेवाग्राहीलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रममा कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदा दिनमा एक सफल र सबल कम्पनीको रूपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्नेछ भनी जानकारी दिए ।
कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आव २०७४÷७५ को दोस्रो त्रैमाससम्ममा ४३ करोड बिमा शुल्क आर्जन गरेको, कुल लगानी ८५ करोड त्यसैगरी खुद नाफा ४ करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिए । २२० जना कर्मचारीहरूलाई रोजगारी प्रदान गरिरहेको, कर्मचारी भर्ना गर्दा नयाँ र सकारात्मक सोच भएका व्यक्तिहरूलाई छनौट गरी नयाँ रोजगारीमा जोड दिइरहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?