उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत


काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)का शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो ।
भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गर्नुभयो । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले सभामुख पदमा कृष्णबहादुर महरालाई काँग्रेसले समर्थन गरेको तथा उपसभामुखमा फरक फरक दलको उम्मेदवार हुनुपर्नेमा एमाले र माओवादी केन्द्र चाँडै एकीकृत हुने भएकाले पनि काँग्रेसको उम्मेदवारी सान्दर्भिक भएको दाबी गर्दै अंक गणितका आधारमा उपसभामुखमा भुसाललाई हराइए सदन अवरोध हुने खतरा बढ्न सक्ने बताउनुभयो ।
सो प्रस्तावमा काँग्रेसको समर्थन गर्दै देवेन्द्रराज कँडेलले जनताको विश्वासलाई जित्नका लागि सरकार विपक्षी मिलेर जानुपर्ने अवस्थामा मध्यस्थ भूमिका निर्वाह गर्न भुसालको उम्मेदवारी आवश्यक छ भन्नुभयो ।
तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गर्नुभयो । उहाँले विद्यमान राजनीतिक अवस्थामा जनताको जनादेशका आधारमा जानुपर्ने भएकाले तुम्बाहाङफेलाई पार्टीले अघि सारिएको बताउनुभयो ।
गुरुङको प्रस्तावमा समर्थन गर्दै नेकपा (एमाले)का रवीन्द्रप्रसाद अधिकारीले तुम्बाहाङफे कानून व्यवसायीका साथै वाम आन्दोलनमा योगदान दिएको व्यक्ति भएको बताउँदै उहाँको नाममा सहमति गर्न आग्रह गर्नुभयो ।
दुई प्रस्तावमा छलफलपछि उपसभामुखको निर्वाचन हुनेछ ।

राष्ट्रियसभामा प्रधानमन्त्रीको वक्तव्य 
यसैबीच राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रतिनिधिसभाको बैठकमा युएस बंगला विमान दुर्घटनाबारे दिनुभएको सार्वजनिक वक्तव्य राष्ट्रियसभाको बैठकमा पनि दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?