जनप्रतिनिधि र कर्मचारी एकआपसका परिपूरक: प्रमुख शाक्य


काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सेवा व्यवस्थापनका लागि जनप्रतिनिधि र कर्मचारी एकआपसको परिपूरक रहनुपर्ने बताउनुभएको छ । महानगरका वडामा कार्यरत सचिव, इञ्जिनियर र लेखा प्रमुखका लागि आज आयोजना गरिएको ‘सार्वजनिक सेवा प्रवाहमा एकरुपता’ विषयक दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा कामपा प्रमुख शाक्यले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध आत्मीय र परिपूरक हुनुपर्ने बताउनुभएको हो ।
स्थानीय सरकारको सशक्त र प्रभावकारी उपस्थितिले मात्र स्थानीय लोकतन्त्र बलियो हुने बताउँदै प्रमुख शाक्यले समूहगत कार्य र कामप्रतिको इमान्दारिताले मात्र नागरिकमा सेवा प्रवाह हुनेमा जोड दिनुभयो । कामपाको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले क्षणिक लाभ लिने नागरिकलाई सेवा प्रवाह गर्न नसक्ने धारणा राख्नुभयो ।
अभिमुखीकरणमा महानगरका ३२ वटा वडालाई दुई भागमा विभाजन गरेर कर्मचारीलाई सहभागी गराइएको थियो । कार्यक्रमको पहिलो दिन वडा नं १ देखि १६ र दोस्रो दिन १७ देखि ३२ वडासम्मका कर्मचारीलाई सहभागिता गराइएको थियो । कर्मचारीको तालीमपछि वडा सदस्यलाई पनि तालीम दिइने महानगरको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?