एनएमबि माइक्रोफाइनान्स छैठौं बर्षमा


काठमाडौ : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ७५ वटा शाखा कार्यालयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खुल्ला रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा स्टेशनरी वितरण, वृद्धाश्रममा वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यन्न वितरण, मठमन्दिर सरसफाइ गरेको थियो । यो सगै अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, फुटवल प्रतियोगिता, जलपान समारोह लगायतका कार्यक्रम गरी बिहीवार वार्षिक उत्सव मनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बताए ।
वार्षिक उत्सव मनाउने क्रममा वित्तीय संस्थाले विहान पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाई गरी कार्यक्रमको शुरुवात गरेका हुन । मन्दिर सरसफाई पश्चात केन्द्रीय कार्यालयको प्राङगणमा रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा वित्तीय संस्थाका कर्मचारी र पोखरा लेखनाथको हेम्जा स्थित समुदाय सम्मिलित ४५ जना रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम पश्चात पोखरा लेखनाथ वडा नं. ३२ स्थित राधाकृष्ण बृद्धाश्रमका ५२ जना बृद्धबृद्धालाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले फलफुल वितरण गरे ।
कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत कोनाजोले वित्तीय संस्थाले बेला बेलामा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सामाजिक कार्यहरु गर्दै आएकोमा जोड दिए ।
२०६९ चैत्र महिनाबाट विधिवत रुपमा कार्यक्रमको शुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्षको अवधीमा देशका ४५ वटा जिल्लाहरुमा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरी करीब ८० हजार जना सदस्य विस्तार गरी करीव ४४ हजार जनालाई करीब २ अर्ब १५ करोड कर्जा लगानी गरेको छ भने ५८ करोड वचत संकलन गरेको छ । राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा कार्यरत यस वित्तीय संस्थाले आगामी दिनमा देशका सवै जिल्लाहरुमा लघुवित्त बैंकिङ्ग कार्यक्रम पुर्याउने वित्तीय संस्थाको योजना रहेको जानाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?