विष आक्रमणमा रसिया दोषी: अमेरिका


वासिङटन: बेलायतमा भएको बहुचर्चित विष आक्रमणको घटनामा रसिया नै दोषी रहेको अमेरिकाले विश्वास व्यक्त गरेको छ । रसियाका पुर्व गुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको आरोपलाई अमेरिकाले समर्थन गरेको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, “विष आक्रमणका बारेमा बेलायतले जे ठहर गरेकोे छ, अमेरिकालाई पनि त्यही लागेको छ ।” “पुर्व गुप्तचर र उनकी छोरीलाई विष खुवाउन लागिएको घटनामा रसिया दोषी छ भन्ने अमेरिकाको विश्वास हो,” वक्तव्यमा उल्लेख गरिएको छ । अमेरिकाले बेलायतको समर्थन गर्ने बताउदै रसियासँगको कुटनीतिक सम्बन्धमा पनि अमेरिका बेलायतसँगै रहेको वक्तव्यमा जनाइएको छ । यसअघि बुधबार बेलायती प्रधानमन्त्री टरिजा मेले यही विषयलाई लिएर २३ जना रसियाली कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको छ ।
छैसठ्ठी बर्षीय पूर्व रसियाली गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्रमा देश छोड्न समय दिइएको छ । यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । तर रसियाली सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ । प्रधानमन्त्री मेले रसियासँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पार्नुभएको छ । तर दुईपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?