गुल्मेली मन्त्री र सांसदलाई सम्मान


काठमाडौँ: गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने र पुख्र्यौली घर गुल्मी भएका मन्त्री तथा सांसदलाई यहाँ आज बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरियो ।
गुल्मेली समाज र गुल्मेली अधिकृत समाजको संयुक्त आयोजनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सो जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई गुल्मेलीको तर्फबाट बधाई एवं सफल कार्यकालको शुभकामना प्रदान गरियो । कार्यक्रममा गृहमन्त्री थापाले अहिले नै आफूहरु बधाईको पात्र बनिनसकेको भन्दै देश, जनता र गुल्मेली जनताका लागि राम्रो काम गर्न सकेको खण्डमा मात्रै बधाई दिनुपर्ने बताउनुभयो । देश, जनता र राष्ट्रको आवश्यकता सुशासन, समृद्धि र विकास भएको भन्दै त्यसमा गुल्मेलीलाई पनि सक्रिय भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले आफूहरुलाई दिइएको बधाई र सम्मानले आफूलाई थप जिम्मेवारीको महसुस गराएको भन्दै त्यो जिम्मेवारी पूरा गर्न आफ्नो सामथ्र्यले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर आफूले काम गर्ने भन्दै त्यसमा देश र गुल्मेली जनताको पनि साथ पाउने विश्वास व्यक्त गर्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकले पहिलो पटक राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिको बाटो लिएको टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?