दैवीविपत्ति न्यूनीकरणबारे नेपाल–जापान समझदारी


काठमाडौँ: विसं २०७२ को जस्तो भूकम्प वा अन्य दैवीविपत्ति आइपरेमा त्यसलाई न्यूनीकरण गर्न नेपाल चेम्बर अफ कमर्स, नेपाल इमर्जेन्सी सेल्टर (शिविर) एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड, जापान तथा इभेन्ट्स एण्ड भेन्यु एसोसियसन अफ नेपालबीच समझदारी भएको छ ।
सो समझदारीअनुसार नेपाल र जापानका ती संस्था मिलेर संयुक्तरुपमा दैवी प्रकोप वा विपत्ति भएको अवस्थामा तत्काल अस्थायी शिविर स्थापना गर्ने तथा व्यवस्थापकीय तथा अन्य शैक्षिक अभियान सञ्चालन हुनेछ । इभेन्ट्स एण्ड भेन्यु एसोसियसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रञ्जीतले जापानमा पटकपटक जाने भूकम्पजस्ता दैवीविपत्तिका बेला हुने उद्धार कार्यक्रम तथा पुनःस्थापनाको अनुभव नेपालका लागि उपयोगी हुने बताउनुभयो ।
नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानका प्रमुख निर्देशक ताकेमित्सु मोनिताले विसं २०७२ को भूकम्पबाट प्रभावितको पुनःस्थापनाका लागि जापानमा भएको दैवीविपत्तिका बेलाको व्यवस्थापन कार्यको अनुभव आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरेको जानकारी दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत कैलाश बजिमयले नेपाल र जापानबीचको सहकार्य विपत्का बेला उपयोगी हुनसक्ने बताउनुभयो । कार्यक्रममा जापानमा भूकम्प, बाढी जस्ता दैवीविपत्तिका बेला विद्यालय खाली गर्ने, भवनको पुनःनिर्माण गर्ने, राहत वितरण तथा पुनःस्थापना कार्यक्रमको संक्षेपीकरण देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?