पर्यटन मन्त्रीद्वारा चन्द्रागिरि हिल्सको अबलोकन


काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् ।
मन्त्री अधिकारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सञ्चालक समितिका सदस्य एवं महाप्रबन्धकले परियोजनाको स्थलगत भ्रमण गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री अधिकारीले सडकसञ्जाल र विमानस्थलजस्ता मुख्य–मुख्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने दायित्व राज्यको भएको बताए । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजी क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले चन्द्रागिरि र चन्द्रागिरिजस्तै सुन्दर सयौं पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्नेमा जोड दिए ।
तोकिएको काम तोकिएकै समयमा निर्माण सम्पन्न भइसक्नुपर्ने गरी कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको जानकारी दिँदै अब काम गरेर देखाउने बाहेक अन्य सुविधा आफूलाई नरहेको प्रस्ट पारे ।
मन्त्रालय असल अभिभावक भएको भन्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सबैलाई सहजीकरण गर्ने विश्वास पनि उनले दिलाए । सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भिœयाउने योजनाका साथ अगाडि बढिरहेको जानकारी दिँदै पर्यटकीय पूर्वाधारको निर्माणमा सहजीकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने उनको भनाइ थियो ।
चन्द्रागिरिलगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य विश्वका पर्यटकका लागि सुरक्षित रहेको बताए । ढकालले कार्यभार सम्हालेकै एक साताभित्र चन्द्रागिरि परियोजनाको भ्रमण गरी आफू र आफ्नो समूहलाई हौसला प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?