भवन भत्किदा दशको मृत्यु


नयाँदिल्ली: भारतको नयाँ दिल्लीमा चार तले एउटा भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ । उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन् । सो भवन शनिबार राति भत्किएको हो । उद्धारकर्ताहरुले घटनामा परी पुरिएका कैयौं व्यक्तिलाई उद्धार गरेका थिए । घटनास्थलमा शनिबार राति ठूलो कोलाहल मच्चिएको थियो ।
“हामीले पुरिएका र च्यापिएका १२ जनालाई बाहिर निकालेका थियौँ, तीमध्ये दश जनाको मृत्यु भएको छ,” प्रहरी निरीक्षक सन्जु कम्लेले एएफपीलाई भन्नुभयो ।
एउटा कारले घरमा ठक्कर दिएपछि भवन भत्किएर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् । हामीले अनुसन्धान शुरु गरेका छौं, अझ मानवीय क्षति नै भएपछि थप मर्माहत भएका छौँ काम्लेले थप्नुभयो । उद्धारकर्ताहरुले दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका छन् । भारतमा भवन भत्किएर हुने दुर्घटनाहरु बेला बेलामा भइरहेका हुन्छन् ।
गत बर्षको सेप्टेम्बरमा पनि मुम्बइमा ११७ बर्ष पुरानो अपार्टमेन्ट भवन भत्किदा ३० जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा आवासीय भवन भत्किदा ६० जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?