नेपाल लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत बोनस सेयर दिने


काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार, वीरगन्जमा सम्पन्न १८औं सभाले सेयरधनीलाई चुक्ता पुँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर २८ दशमलव ५३ रुपैयाँ करसहित वितरणको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ हुनेछ ।
यसैगरी, कम्पनीको अधिकृत पुँजी
८ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ । कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईको अध्यक्षतामा सम्पन्न सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समीक्षा वर्षमा कम्पनीले कुल बिमा शुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
उनले विद्यमान सेयर स्वामित्वमा सर्वसाधारण समूहमा सेयर संरचनामा वृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण सेयरधनीको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने विश्वास व्यक्त गरे । सभाबाट आव २०७३-७४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।
त्यसैगरी, कम्पनीको पुँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण सेयरको विद्यमान ७० बराबर ३० अनुपातलाई परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर स्वामित्व अनुपात ६० बराबर ४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?