विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत


साना: यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । “अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जना हताहत भएका छन्,” एक जना उच्च स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्ह्वासँग टेलिफोनमार्फत भन्नुभयो ।
उहाँले थप्नुभयो, “तीमध्ये केहीको मृत्यु र केही घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।” एकजना सुरक्षा अधिकारीका अनुसार लडाकू विमानबाट वैवाहिक समारोहमा दुई वटा बम खसालिएको थियो । घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो । बम विस्फोटनमा परी वैवाहिक समारोहनजिकै रहेका घर, सवारी साधनलगायत नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । यमनमा गत तीन वर्षदेखि हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा भिडन्त हुँदै आएको छ । गठबन्धन सेनाले गत शुक्रबार पनि दक्षिणपश्चिमी ताइज प्रान्तमा हवाई आक्रमण गरेको थियो । घटनामा परी कम्तीमा १७ जना मारिएका थिए । चर्चित स्थानीय बजारबाट घर फर्किँदै गरेका यात्रु चढेको सार्वजनिक दुईवटा सवारी साधनमा आक्रमण हँुदा उनीहरको मृत्यु भएको अधिकारीले जनाएका छन् । यमनमा अहिले चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म झण्डै दश हजार यमनी नागरिक मारिएका छन्, भने लाखांै विस्थापित भएका छन् । मानवीय संकटको दृष्टिकोणले अहिले यमन विश्वकै द्वन्द्वग्रस्त क्षेत्रमा देशहरुको सूचीमा रहेको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?