‘प्यालेष्टिनी समूह ट्रम्पद्वारा प्रस्तुत कुनै सम्झौतामा सहभागी नहुने’


रामल्लाह: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) का महासचिव साहिब एरेकातले आइतबार बताउनुभएको छ । प्यालेष्टिनी रेडियो भ्वाइस अफ प्यालेष्टाइनसँग अमेरिकी राष्ट्रपतिको सन्देश बोकेर विदेश मन्त्री माइक पोम्पेओ इजरायलमा रहेका समय एरेकातले गरेको कुराकानीमा उहाँले आफूहरूलाई डोनाल्ड ट्रम्पको पहलमा हुने भनिएको सम्झौता कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो ।
ट्रम्पले इजरायलको राजधानीका रूपमा जेरूसेलमलाई मान्यता दिने घोषणा गरेर आफै शान्ति प्रक्रियाबाट एक्लिएको पिएलओ नेताको भनाई थियो । उहाँले थप्नुभयो, जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अडान परिवर्तन नगर्दासम्म अमेरिका शान्ति प्रक्रियाको समन्वयकर्ता वा सदस्य हुन सक्नेछैन । पूर्वी जेरूसेलमविनाको प्यालेष्टिनी राज्यको कुनै अर्थ नहुने पनि उहाको भनाइ थियो ।
शुक्रबार राति इजरायली सञ्चारमाध्यमले दिएका खबरहरूमा अमेरिकी राष्ट्रपतिद्वारा आगामी मे मा इजरायल तेल अभिभस्थित अमेरिकी राजदूतावास जेरूसेलममा उद्धघाटन गर्ने सम्भावना रहेको र त्यसपछि मध्यपूर्वको शान्तिका लागि प्रस्ताव अघि सार्ने बताएका थिए । उक्त सम्झौता प्रस्तावमा प्यालेष्टिनीहरूलाई आर्थिक राहतलगायतका कुराहरू समावेश हुने बताइएको छ ।
यसको प्रतिक्रियामा एरेकातले भन्नुभयो, “यो नैतिकरूपमा स्वीकार्य नहुने भन्दै प्यालेष्टिनीहरू नत पैसामा बेचिन्छन् नत किनिन्छन् नै ।” उहाँले इजरायल–प्यालेष्टाइनबीचको अवस्थालाई अन्तर्राष्ट्रिय सङ्कल्प प्रस्तावअनुसार दुई देशीय समाधानका आधारमा हुनुपर्ने दोहोराउनुभयो ।
अमेरिका र प्यालेष्टाइनबीचको तनाव गत वर्षको अक्टुबरदेखि बढेको थियो । यो तनाव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने र इजरायलस्थित अमेरिकी राजदूतावासलाई जेरूसेलममा सार्ने सन् २०१७ डिसेम्बर ६ को निर्णयसँगै थप चर्केको छ । इजरायल र प्यालेष्टाइन विवादबारे छलफलका लागि अमेरिकी विदेशमन्त्री शनिबारदेखि मध्यपूर्वको भ्रमणमा हुनुहुन्छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?