मानवतावाद भन्दा ठूलो राष्ट्रवाद होइन


शिला सिंह, रिभोलुसनरी कम्युनिष्ट मेन्यूफेस्टो गु्रप,यूरोप

नेपालमा अहिले भर्खर दुई नेपाली कम्युनिष्ट पार्टीविचमा एकता भएको छ,आरसीएमजीको प्रतिक्रिया के छ ?
म व्यक्तिगत हिसावमा तत्कालिन माओवादी पार्टीमा आवद्व भई काम गरेको हुनाले प्रतिक्रिया दिन चाहन्छु ।
आजको विश्व घटना एकातर्फ साम्रज्यवाद अर्कोतर्फ धार्मिक कट्टरता, यी दुवै अत्यन्तै पुरातन प्रतिक्रियावादी सिद्वान्त हुन । जो एक अर्कामा विरोधी देखिएतापनि एकले अर्कालाई प्रर्वद्वन गरिराखेका हुन्छन । यसमा हामीले कनुैपनि एकको पक्ष लिएर अर्काको विरोध गर्नु भनेको सैद्वान्तिक रुपमा दुइटै गलत विचारलाई मजबुतीकरण गर्नु हो । यही दुई विचारको अन्तरविरोधले अहिलेको विश्वमा जतततै फाँसीवादी विचारको जन्म दिइराखेको छ जसमा धार्मिक कट्टरता एवं राष्ट्रियताको उदय भएको छ ।

भनेपछि नेपालमा माक्र्सवाद र माओवादको विघटन अर्थात विर्सजन भएकै हो ?
मैले माथि नै भनिसकेकी जव उनीहरूको सिद्वान्त माक्र्सको सिद्वान्तसंग तादाम्यता राख्दैन भनेपछि उदाउनु र अस्ताउनुको कुरै रहेन । माओवादी,माक्र्सवादी नाम राख्दैमा कम्युनिष्ट भइहाल्ने हुदैन ।

तपाईहरू एकतालाई सारसंग्रहवादी, आत्मसमर्पणवादी रुझान भन्नुहुन्छ, युरोपमा वसेर टिप्पणी गरेर हुन्छ ? नेपालको वस्तुगत अवस्था हेर्नुपर्देन ?
सारसंग्रवादी, आत्मसमर्पणवादी म यूरोपमा वसेर मात्र भनेकी होइन । यदि म अफ्रिकामा, अमेरिका, एसिया वा विश्वको जुनसुकै ठाउंमा उपस्थित हुन्थे भने म त्यही भन्थें । सर्वप्रथम हामीले यो बुझ्नुपर्छ कि कम्युनिष्टको कुनै राष्ट्र, धर्म र जात हुदैन । उनीहरू अन्तराष्ट्रियवादी हुन्छन् । उनीहरूमा मुख्यत सैद्वान्तिक,वैचारिक लाईनको सम्बन्ध रहन्छ । यसको ज्वलन्त उदाहरण कमरेड प्रचण्डलाई लिन सक्छौं । जनयुद्व भइरहदा उहाँ नेपालमा नभई भारतमा हुनुहुन्थ्यो । तर जवसम्म लाईन सहि थियो त्यसैले कुनै फरक परेको थिएन । तर आज उहाँ नेपालमा नै रहेरपनि लाईन गलत अंगाल्नु भएको छ । त्यसले के देखाउछ भने को कहांवाट भन्दा पनि लाईनमा भर पर्ने कुरा हो । लेनिनलाई हेर्नुहोस, रसियामा क्रान्ति गर्न वहां रसियामै बसिराख्नु परेन । आफ्नो लाइन स्विट्चरल्याण्डवाट पनि अघि बढाई राख्नुभयो । नोरमान वेथुनको जीवनी हेर्नुस वहां क्यानडाको कम्युनिष्ट भएर चाइनिज क्रान्तिमा योद्वाहरूलाई चिक्तित्सासेवा प्रदान गरेर आफ्नो ज्यान गुमाउनु भएको इतिहास हामीसंग छ । यस्तो प्रश्न उठाउनु नै असान्दर्भिक ठान्छु । अहिलेको समय भनको एउटा मजवुत क्रान्तिकारी धार निर्माण गर्नु हो । करौडौंको संख्यामा वार्षिक एक राष्ट्रवाट अर्को राष्ट्रमा माइग्रेट भइरहेको छ भने को कहां भन्दा पनि लाईन के भन्ने प्रश्न प्रमुख सवाल हो । । कुनै वैचारिक बहस गर्न खोज्यो भने यो सवाल तेर्साएर पन्छिन खोज्नु भनेको डेमोगोजी र गैरसाम्यवादी धारणा भन्दा अरु केहि होइन । आज नेपालमा राष्ट्रियताको सवाल उठाउनु अत्यन्तै खतरनाक छ । राष्ट्रियता भनेको जनता हो, कुल जनताको एक तिहाई जनता विश्वभरि नरकीय जीवन विताईरहेका छन् भने हामीहरूले राष्ट्रियताको गौरव गर्नुपर्ने कुनै अर्थ देखिदैन । राष्ट्रको निर्माण ऐतिहासिक कालखण्डमा सम्राटहरूले रगतको धर्सा कोरेको मात्र हुन् । मानवतावाद भन्दा राष्ट्रवाद ठूलो होइन ।

आरसीएमजी अझैपनि हिंसात्मक विद्रोह गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छ कि शान्तीपूर्ण क्रान्तिको पक्षमा छ ?
सर्वप्रथम आरसीएमजी के हो भनेर बुझ्नु भएमा यो प्रश्नको उत्तर सजिलोसंग बुझ्नु होला भन्ने मलाई लाग्छ । सन १९८४ मा माओ विचारधारा वा माओवाद गाईडिङ प्रिन्सिपल अर्थात मार्कदर्शक सिद्वान्त मान्ने भन्ने भिषण संघर्षपश्चात माओवादी गाईडिङ प्रिन्सिपल भन्ने पार्टीहरूले आफ्नो छाता संगठन रिम स्थापना गरे । र रिममा पनि निरन्तर दुई लाईन संघर्ष चलिरहयो र हाल माओवाद पनि दुईमा विभाजित भयो । रिम निस्कृय भयो । र अन्तत विघटन भयो । अवको संघर्ष भनेको अन्तराष्ट्रिय जगतमा प्रो न्यू सेन्थेसिस र एन्टी न्यू सेन्थेसिस विचको हो । आरसीपी यूएसएका अध्यक्ष बब अभाकीयनले ४० वर्षको आइसिएम अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र मानव विज्ञानको विभिन्न स्रोतवाट अध्ययन एवं सोधवाट प्रतिपादन गर्नुभएको संष्लेशण एमएलएम अर्थात माक्र्सवाद, लेनिनवाद माओवादको अझ विकसित रुपमा न्यू सेन्थेसिस यानकी नयाँ संश्लेषण प्रतिपादन गर्नुभयो । आरसीएमजी भनेको त्यो गु्रप हो जसले न्यू सेन्थेसिसलाई विश्वभर प्रचार गर्ने प्रयत्न गर्छ । यहि न्यूँ सेन्थेसिसको बारेमा सेमिनार, छलफल, बहस र व्यावहारिक रुपमा प्रत्यक्ष विभिन्न मुभमेन्ट संचालन गर्दै आएको छ । हाललाई हामी क्रान्तिकारी वहस र रिभुलुसनरी क्राइसिस छिटो भन्दा छिटो कसरी ल्याउने र यो क्राइसिस आएको खण्डमा हार नखाने गरि क्रान्ति हांक्न सक्ने क्रान्तिकारी नेतृत्वको निर्माणमा लागेका छौं । अव प्रश्न रहयो हिंसात्मक या शान्तिपूर्ण । क्रान्तिकारीले हिंसात्मक कहिले पनि चाहदैन । आज भइरहेको अनाहक हिंसा जस्तै भोक, रोग, शोेक,वातावरणीय क्राइसिस युद्वका कारण अन्त्य गर्न चाहन्छ । तर यसो भनिरहदा के पूँजिवाद साम्राज्यवादले हामीले चलाएको व्यवस्थाले पृथ्वी र मानवताकै विनास भइरहेको छ, ल तपाईहरू समाजवादी व्यवस्था स्थापित गर्नुस भन्छ जस्तो लाग्छ ? हामी कम्युनिष्ट हौ र माक्र्सवादको आधारभुत सिद्वान्त लागु गर्ने हो भने अन्तत बल प्रयोगद्वारा नै क्रान्ति सम्पन्न हुन्छ र इतिहासले हामीलाई त्यहि देखाएको छ ।

हिंसात्मक विद्रोह पनि नगर्ने, शान्तिपूर्ण रुपमा सरकारलाई उपयोग गरेर गरिने रुपान्तरणसंग पनि असहमत हुने, तपाईहरूको कस्तो दृष्टिकोण हो यो ? विरोधभाषपूर्ण भएन र ?
सर्वप्रथम हामी कम्युनिष्ट क्रान्तिकारी क्रान्ती चाहान्छौं । क्रान्ति भनेको पुरानो व्यवस्थालाई ध्वस्त बनाएर नितान्त नयां विचारको आधारमा नयां व्यवस्था निर्माण हो । नितान्त भिन्न खालको व्यवस्था ल्याउनु हो । सम्पूर्ण चार यानकी हरेक खालको विभेदको उन्मूलन,जुन आर्थिक सम्बन्धमा अडेको हुन्छ । जस प्रकारको सामाजिक सम्बन्ध रहन्छ त्यस अनुसारको चेतना हुन्छ । यो सम्पन्न गर्नलाई बनिवनाउ व्यवस्थामा सुधार ल्याएर गर्छु भन्न गलत धारणा हो । यसलाई इतिहासले पटक पटक पुष्टि गरिसकेको छ । लेनिनले भन्नु भए झै राज्यसत्ता वाहेक अरु सवै भ्रम हो । राज्यसत्ता प्राप्त गर्न रयाडिकल क्रान्ती हुनु अनिवार्य छ । र त्यो निर्मम,कठिन अवश्य छ तर सम्भव छ । त्यसका लागि त्यसको सिद्वान्त र विधि बुझ्न अत्यन्तै जरुरी छ । सिद्वान्त र विधि दह्रोसंग नबुझेर व्यहारिक ढंगवाट क्रान्ती गर्छु भन्नु नितान्त मनोगत धारणामात्र हो । र त्यो सम्भव हुदैन । लेनिनले क्रान्ति सम्पन्न गर्न माक्र्सले प्रतिपादन गर्नुभएको सिद्वान्त आत्मसाथ गर्नुभयो,माओले सांस्कृतिक क्रान्ती मार्फत लेनिनवादलाई विकास गर्नुभयो । वाद भन्नु सार्वभौम विज्ञान हो र त्यो गतिशिल रहन्छ । र त्यसको गतिलाई बुझ्न वैज्ञानिक ढंगले हिजो के थियो इतिहास, आज के भइरहेको छ संघर्ष र भोली यसलाई कसरी विकास गर्न सक्छौं भन्ने अध्ययन हुन विशेष गरेर नेृतत्व तहमा अत्यन्तै जरुरी छ । सिद्वान्तमा राम्रो दखल नभइकन चाहे त्यो हिंसात्मक होस या शान्तपूर्ण त्यसले कुनै अर्थ राख्दैन ।

नेपालमा माओवादी केन्द्र, एमाले बाहेक जो अहिले एकीकृत भएर नेकपा भएका छन, अरु आफूलाई माओवादी, क्रान्तिकारी भन्ने जस्तै मोहन वैद्यको दल, नेत्रविक्रम चन्दको कम्युनिष्ट पार्टी छन, उनीहरूले गरिरहेको अभियान चाहि ठिक छ त ?
नेपालमा माओदी केन्द्र र एमाले बाहेक मोहन वैद्य समूह, नेत्रविक्रम चन्द समुहले गर्नुभएको अभियान प्राविधिक रुपमा फरक देखिएपनि सैद्वान्तिक दृष्टिकोणले अहिलेसम्म तात्विक फरक देखिदैन । तर नेपालमा क्रान्तिकारी माझ ठूलो भ्रम छ । उहांहरूको विभाजन सैद्वान्तिक तवरवाट भएको छ भनेर । यो विल्कुल गलत विश्लेषण हो । हुेर्नुस तत्कालिन माओवादी पार्टीले शान्ति प्रक्रियामा राज्यको पुर्नसंरचना भनेर आउदा उहांहरू त्यही पार्टीमा भएरपनि पनि स्विकार्नु गलत हो । उहांहरूले पार्टीमा संघर्ष गर्नुभएको थियो तर नितान्त प्राविधिक कुरामा । उदाहरणको लागि माओवादी क्यान्टोन्मेन्टको चाँवी फिर्ता दिने सवाललाई हेरौं । यदि उहांहरूलाई सूचना दिएर गरेका भए सेना समायोजन सम्मानजनक हुन्थ्यो भन्ने वहांहरूलाई लाग्यो । वहांहरूलाई खवर नगरि दिदा अपमानजनक भयो भन्ने तर्क देखियो विभाजनमा जानेहरूको पनि । यदि उहांहरू सच्चा क्रान्तिकारी हुनुहुन्थ्यो भने, दुई लाइन संघर्षमा विश्वास गर्नुहुन्थ्यो भने वहांहरू क्यान्टोन्मेन्टको सांचो दिने सवालमा नै फरक मत राख्नुपथ्र्यो । प्रश्न सांचो कसरी कसलाई सोधेर राज्यलाई बुझाउने भन्दा पनि बझुाउनै नै गलत हो भन्ने निष्कर्षमा पुग्न सक्नुपथ्र्यो । यस मामिलामा उहांहरू चुक्नुभयो फलत आजको दिनमा उहांहरूलाई पनि नेपाली जनयुद्वको विरासतको असली हकदार ठान्ने अधिकार छैन । जनताका विचवाट निर्माण भएको जनसेना र बुर्जुवा शैलीवाट भएको नेपाली सेनालाई समायोजन गर्ने नीतिमा उहांहरू प्रतिवाद गर्नुभएन । यस्ता यावत कुराहरू छन् । यी कुराहरूले नै उहांहरूको संघर्ष पनि प्राविधिक थियो भन्ने पुष्टि हुन्छ । अर्को कुरा हाल विप्लव कमरेडले हामी फेरि युद्व गर्छौ भन्नु माओवादलाई जनयुद्वमा सिमित गर्नु हो । जुन अत्यन्तै गलत र घातक तर्क हो । वहांहरूले हिजो भएको कमि कमजोरीको गहिरो समिक्षा नगरि हामीले विगतमा कहा गल्ती गर्यौ , त्यो गल्तीको मनन नगरि हाललाई फरक देखाउन जे गर्नुभएपनि अन्तत फेरि त्यही गल्ती दोहोरिन सक्छ ।

सिद्विनुभन्दा त चुनावी एकता, पार्टी एकतालाई कार्यनीतिको रुपमा लिएर एककाइसौ शताब्दीको जनवादमा जाने रणनीतिक चालबाजी पनि त हुन सक्छ नि एकताको प्रश्न ?
अत्यन्तै सान्दर्भिक प्रश्न गुर्नभो । कार्यनीतिमा एकता र रणनीतिमा प्रचण्डपथको स्थापना यसलाई नकार्ने पक्षमा म छैन । तर यहां बुझ्नुपर्ने कुरा के हो भने टर्मीननोलोजीमा प्रचण्डपथ भन्नुस अथवा जनताको बहुदलिय जनवाद भन्नुुस सारमा दुईटै गैर क्रान्तिकारी संशोधनवादी विचार हुन् । यी दुवै दस्तावेजले सर्वाहारा वर्गको अधिनायकत्वलाई अस्विकार गरेका छन् । यो एकताले सायद वहांहरू बुर्जुवा राजनीतिको अस्तित्वमा नसकिनुहोला तर वहारुले क्रान्तिप्रति गरेको गद्दारीलाई इतिहासले माफ गर्ने छैन । कुनै पनि व्यहावरमा गर्ने कार्यका पछाडि विचार हुन्छ । र तत्कालिन माओवादीलाई डेभिएसनमा लान मुख्य भूमिका खेल्ने विचार दस्तावेज २१ औ शताब्दिमा जनवादको विकास या प्रचण्डपथ पनि एक हो । प्रचण्डपथ नितान्त प्रचण्डको मात्र विचार नभएर समग्र तत्कालिन पार्टीको हो भन्ने बुझछु म र त्यसको स्वामित्व तत्कालिन माओवादी नेतृत्वले लिएर कठोर समिक्षा गर्नु जरुरी छ ।

आरसी एमजीले नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी नियालिरहेको छ त ?
नेपालको कम्युनिष्ट आन्दोलनमा अन्गिन्ती धार र समुह पार्टी देखा परे । कुनै अत्यन्तै यान्त्रिक,जडसुत्रवादी रहे भने कुनै माक्र्सवादको सिर्जनशीलताको नाममा दक्षिणपन्थी देखिए । हामीले बुझेको कुरा दुवै धार अन्तत एक सिक्काका दुई पाटा हुन । दुवै धार गैर क्रान्तिकारी संशोधनवादी हुन् । तर एउटा कालखण्डमा आएर माओविचारधारा वा माओवाद पार्टीको पथपर्दशक सिद्वान्त भन्ने भीषण संघर्षपश्चात माओवाद पथप्रदर्शक स्थापना गर्ने पार्टीले नेपाललाई मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनमा योग्दान पुर्यायो । पेरुको कम्युनिष्ट पार्टीले खाएको धक्काले विश्वभरि निरासा ल्याएको थियो भने तत्काल नेकपा माओवादीले नयां उर्जाका साथ नेपालमा जनयुद्दको थालनी गरेर विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ आशाको केन्द्रविन्दु बन्न सफल भयो । यो इतिहासमा दर्ज भएको यथार्थ हो । यसमा युद्वमात्र नभएर आधार इलाका निर्माण्को प्रक्रिया चल्यो । नितान्त भिन्न व्यवस्थाको प्रक्रिया थालनी भयो । जसको आर्थिक नीति,सामाजिक सम्बन्ध अनि हरेक विभेदको उन्मुल्न गर्ने विचार यी आधार इलाकामार्फत विस्तारित भइरहेको थियो । यी आधार इलाका नै नयां राज्यसत्ताको भू्रण थिए । तर विडम्बनाका साथ तितो सत्य भन्नुपर्दा प्रचण्ड पथको अवधारणाको स्थापनाका साथ क्रमिक विचलन बढदै गयो । र अन्तत संशोधनवादमा फस्न पुग्यो । त्यो विचलन व्यक्ति व्यक्तिविचको इच्छाले भन्दा पनि गलत सिद्वान्त अपनाउनुको परिणाम हो ।
आज एउटा नेतृत्वले अर्को नेतृत्वलाई दोष लगाएर आफु उम्कने कोशिस गर्नुहुन्छ, यो अत्यन्तै गलत प्रणाली हो । यसले सहि दिशामा पुर्याउदैन । यसमा फेरी पनि विगतको समिक्षा गरेर यसको जिम्मेवारी लिनुपर्छ । कोही निरपेक्ष हुदैन । दुई विपरीतको एकत्व हुन्छ । माक्र्स, लेनिन ,स्टालीन माओ महान दूरदर्शी दिग्गज नेता हुन । उनीहरू समाजवादका गुरु पनि हुन् । त्यति भएरपनि उनीहरूवाट पनि केहि गल्ती नै भएन भन्ने होइन । उनीहरूले मानव इतिहासमा गरेको योग्दानको कदर गर्दै केहि भएको कमीकमजोरीलाई परित्याग गर्नु नै बब अभाईकिएनको नयां संश्लेषण हो । र यदि हामी सच्चा कम्युनिष्ट क्रान्तिकारी हौं र क्रान्ती चाहन्छौ भने नयाँ संश्लेषणमा वहस गर्न अत्यन्तै जरुरी ठान्छौं । क्रान्ती भनेको विज्ञान हो । विज्ञान भनेको सत्य हो । र यसको नजिक पुग्न व्यवहार मात्र नभएर सिद्वान्तको जरुरत हुन्छ । र कुन सिद्वान्त भन्ने निर्धारण गर्न क्रान्तिकारीहरू वहस गर्न हिच्किचाउनु अर्थात डराउनु हुदैन ।
प्रस्तुतिः तिलक तिवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?