टेलिकमको अप्टिकल फाइवर विस्तार


काठमाडौ । नेपाल टेलिकमले अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको टेलिकमले जनाएको छ ।
अव असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुनेछ । आगामी आर्थिक वर्ष २०७५-७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको छ । सम्पन्न भएका नेटवर्कमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले– भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही– तुलसिपुर रहेका छन् ।
त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुली बीचको ११५.८० किलोमिटर मध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने बेनी–जोमसोम बीचको ११३.४४ किलोमिटर रुट मध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।
त्यस्तै बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा– बहादुरगञ्ज र कोहलपुर–लम्कीलाई जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ । त्यस्तै केरखा–कोरोबारी र गौरादह– कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ । स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटर मध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ ।
अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरु र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आवद्ध हुने छन् । ती पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु हुन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर जोडिने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?