स्वस्थ्य जीवनका लागी योग अपरिहार्य


अर्चना घिमिरे न्यौपाने, महिला प्रमुख, पतञ्जली योग समिति नेपाल

योगको चेतना नेपालमा कस्तो पाउनु भएको छ?
नेपालमा योगको चेतना वृद्वि भईरहेको अवस्था छ । मान्छेमा योग रोगी भएपछि मात्र गर्ने हो र बुढेसकालमा मात्र गर्ने हो भन्ने भावनामा परिवर्तन आएको छ । आज बालबालिका युवा सबैको आकर्षणको केन्द्र योग बनेको छ । योगप्रति सबैको भावना सकरात्मक पाएका छौं ।
योग र जीवन विचको अन्तर्सम्बन्ध कस्तो हुन्छ ?
योग र जिवन एक अर्काका परिपुरक हुन् । स्वस्थ्य जीवनका लागी योग अपरिहार्य छ । योगले शारिरिक,मानसिक, बौद्विक, र आत्माको सन्तुलन कायम गर्ने कार्य गर्दछ । योग धेरै प्रकारका हुन्छन हटयोग,लययोग,राजयोग,अष्टाङ्ग योग,ध्यान योग आदी । यसरी दैनिक योग आशन र प्रणायाम गर्नाले आरोग्यता,निर्भयता,सुख, शान्ति,सुरक्षा,सहिष्णुता, प्रेम, करुणा,धैर्य,विवेक,ओज,तेज प्राप्त हुन्छ । योगले परब्रम्ह परमेश्वरको सम्बन्धलाई अनुभूती गराउदछ साथै यो जीवन प्राप्त गर्नुको मुख्य प्रयोजन आफ्नो कर्मफल भोग गर्नु र मोक्ष (दुखबाट छुटकारा पाउनु) प्राप्त गर्नु हो । हिजो गरेका कर्मले जे जस्तो भोगे पनि जीवन सुखमय आनन्दमय बनाउने माध्यम योग नै हो । योग प्रकृतिका साथ तादाम्यता प्राप्त गर्ने माध्यम पनि हो ।
अन्तराष्ट्रीय योग दिवस मनाउने चलन नेपालमा कहिले देखी शुरु भयो ?
६९ औँ संयुक्त राष्ट्रसंघको साधारण सभामा २६ सेप्टेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नु भएको र नेपालका प्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालाद्वारा समर्थन गरिएको र डिसेम्बर ११, २०१४ मा १९३ राष्ट्र मध्ये १७७ राष्ट्रले २१ जुनलाई अन्तराष्ट्रिय योग दिवस मनाउने गरी पारित भए अनुसार आज विश्वका लगभग १७८,१७९ राष्ट्रले एक साथ एक समयमा विगत २०१५ देखी २०१८ सम्म आईपुग्दा चौथौँ योग दिवस मनाईरहेका छौं ।
पतंजली योग समितिले योगलाई नेपालमा कसरी विस्तार गरिरहेको छ ?
पतंजली योग समिती नेपालले आज योगलाई जन जनमा पुर्याउनका लागी प्रयत्नशिल रहेको छ । स्वामी रामदेव जि महाराज र आचार्य बालकृष्ण जि महाराजको निर्देशनमा नेपालमा योगलाई संगठित रुपमा लैजाने क्रममा देशका ७७ वटै जिल्लामा जिल्ला समितिहरू बनेका छन त्यसमा पतंजली योग समिती नेपाल, महिला पतंजली योग समिती नेपाल र युवा नेपाल रहेका छन । अहिलेको संघिय संरचना अनुसार सातै वटा प्रदेशमा प्रदेश समितीहरूपनि गठन भएका छन र साथमा केन्द्रिय समिति पनि रहेको छ । र हाम्रा जतिपनि योग सेवा दिइरहेका प्रशिक्षकज्युहरूले निशुल्क योग सेवा दिइरहनु भएको छ । यसमा विद्यार्थीका लागी योग,रोगीका लागी योग, ध्यानका लागी योग, व्यापारीका लागी योग,राष्ट्र सेवकका लागी योग,सुरक्षा निकायका लागी योग,मोटोपनका लागी योग र साधनाबाट समाधिमा पुग्नका लागी योग जस्ता अभियानहरू चलिरहेका छन ।
योगलाई योग दिवसका रुपमा भन्दा पनि आम नेपालीको संस्कार बनाउन सकिएको छ कि छैन ? सकिएला कि नसकिएला?
योगलाई नेपालीको संस्कार बनाउन सकिएको छैन तर बनाउन सकिन्छ । त्यसको माध्यम योग दिवस मनाउने, योगका विविध प्रचारात्मक कार्यक्रमहरू संचालन गरी मिडियाका माध्यमबाट सरकारी निकायको सहयोग र सहकार्य भएमा ऋषि परंम्परा र बैदिक संस्कृतिलाई पूर्नस्थापना गर्न सकिन्छ । आज पश्चिमा देशहरूको रहन सहन र खानपानलाई नक्कल गर्ने क्रममा विष्मृत भएको हाम्रो संस्कारका कारणले गर्दा बाल्यकाल देखी नै विभिन्न प्रकारका रोगहरूले तनावयुक्त जिवन यापन भईरहेको छ ।
तपाई पतंजली योग समिती नेपालको महिला प्रमुख हुनुहुन्छ, धेरैलाई योग सिकाउनु भएको छ, योग गर्नु पूर्व र योगपछिको मान्छेको जीवनमा कस्तो परिवर्तन पाउनु भएको छ ?
योगमा जोडिने क्रममा जव योग शिविर हुन्छ त्यसमा समान्य व्यक्तिहरू देखी रोगिहरू (जस्तै प्रेसरका रोगी, मुटुका रोगी,मोटोपन, डिप्रेशन, प्यारालाईसिस, थाईराइड, ढाड कम्मरका रोगीहरू आदि) लगायत विभिन्न प्रकृतिका व्यक्तिहरू सहभागी हुन्छन र जब वहाँहरूले योग प्रणायाम र आशनहरू निरन्तर गर्नुहुन्छ वहाँहरू रोगीबाट निरोगी बन्नुहुन्छ । त्यसपछी वहाँहरूको वाणी र व्यबहारमा परिवर्तन आउँछ । हामीले योग गराउने क्रममा धेरै किसिमका व्यक्तित्वहरूसँग सम्पर्क र सम्बन्ध रहन्छ र कतिपय व्यक्तिहरू जब योगमा सहभागी हुनुहुन्छ वहाँहरू सबैको दिनचर्या परिवर्तन हुन्छ जस्तै बेलुका समयमा सुत्ने र विहान ब्रम्हमुहुर्तमा उठ्ने, उषापान गर्ने (तातोपानी पिउने), योग गर्ने, प्रणायाम गर्ने र खानपानमा परिवर्तन (मांशाहार नगर्ने, चिया नखाने र धेरै चिल्लो पदार्थहरू नखाने, चिनी कम भन्दा कम प्रयोग गर्ने, नुनको कम प्रयोग गर्ने, पेनकिलरको प्रयोग कम गर्ने) जस्ता आफ्नो जीवनको लागी उपयुक्त आहार विहारको प्रयोग गर्ने र सकारात्मक सोंचको विकास भएको पाएका छौं ।
योगको चेतनालाई घरघरमा पुर्याउन नेपालमा राज्यले के गरिरहेको छ ?
योगको चेतनालाई घर घरमा पुर्याउन राज्यका तर्फवाट खासै त्यस्तो उपलब्धिमुलक देखिने कार्यहरू संचालन भएका छैनन तापनी नेपाल सरकार शिक्षा मन्त्रालय मार्फत र जनस्वास्थ्य मन्त्रालयको आयुर्वेद विभाग मार्फत केहि कार्य गर्ने प्रयत्न भैइरहेको छ । जस्तै शिक्षा मन्त्रालयले पाठ्यक्रम विभाग मार्फत कक्षा ७ देखी नैतिक शिक्षा भनेर केहि पाठ्यक्रममा समावेश गरिएको छ । तर यसको कुनै प्रयोगात्मक कार्य भएको छैन । माघ १ गते मनाउने राष्ट्रिय योग दिवस र जुन २१ मा मनाइने योग दिवस शिक्षा मन्त्रालयकै समन्वयमा मनाउने गरिएको छ । आयुर्वेद केन्द्रमा यो कक्षा लगाउनका निमित्त जिल्ला स्थित आयुर्वेद कार्यालयहरूले पतंजली योग समितिसँग समन्वय गरी दैनिक योग कक्षाहरू लगाईरहेको छ । हामी आशा गरौं भोलिका दिनमा वृहत कार्यहरू हुनेछन ।
नेपालमा योग प्रशिक्षक अहिले सम्म कति उत्पादन भएका छन ?
पतंजली योग समितिमा अहिले सम्म लगभग ४० हजार योग प्रशिक्षकहरू रहेका छन । यसमा महिला प्रशिक्षक लगभग ७० प्रतिशत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?