प्रदेश नंं ५ः सूचना टाँस गरी बैठक स्थगित


बुटवल: प्रदेश नंं ५ प्रदेशसभाको आज बस्ने भनिएकोे बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । सरकारले सहमतिअनुसार बजेटमा विपक्षीका भावना नसमेटिएको भन्दै बैठक चल्न नदिने बताएपछि आज बस्ने भनिएकोे बैठक सूचना टाँस गरेर स्थगन गरिएको हो ।
विपक्षी दल नेपाली काँग्रेसले सहमतिअनुसारका विषय विनियोजन विधेयकमा नसमेटिएको भन्दै बैठक चल्न नदिने भनेपछि आज अपराह्न १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन गरिएको थियो । त्यसपछि पुनः ४ः१५ बजे अर्को सूचना टाँस गरी बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगन गरिएको थियो ।
बजेट समावेशी र सन्तुलित नभएको भन्दै काँग्रेसले असार ४ गतेको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको थियो । विपक्षीले बैठक अवरुद्ध गरेपछि आर्थिक मामिला तथा योजनामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन विधेयक आउँदा प्रतिपक्ष दलले उठाएका विषय पनि समेटिने आश्वासन दिएपछि असार ५ गतेको प्रदेशसभा बैठक शुरु भएको थियो ।
आफूहरुले उठाएका विषय विनियोजन विधयेकमा समावेश नभएको र मुख्यमन्त्रीले दिनुभएको आश्वासन नसमेटिएकाले आजको बैठक चल्न नदिने जानकारी सभामुखलाई दिएको काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिनुभयो । काँग्रेसले बैठक अवरुद्ध पार्ने संकेत दिएपछि सभामुख पूर्णबहादुर घर्तीको पहलमा मुख्यमन्त्री पोखरेल, काँग्रेस नेता शर्मालगायतका सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल भए पनि सहमति नहुँदा बैठक बुधबार मध्याह्नसम्मका लागि स्थगन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?