ब्याडमिन्टनका दीपेश सर्वोत्कृष्ट


काठमाडौँ: शहीद दशरथ चन्द मेमोरियल ट्रस्टले क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको छ । शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको दशरथ रङ्गशालाको प्राङ्गणमा शहीद चन्दको शालिक रहेको स्थानमा आज आयोजित कार्यक्रममा सन्दीपसहित क्षेत्रगत रुपमा पाँच र पाराबाट दुई खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । शहीद दशरथ चन्द मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दले २०७४ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको बताउनुभयो ।
सन्दीपलाई विशिष्ट मेधावी खेलाडीबाट पुरस्वृmत गरिएको हो । ‘ग्लोबल टी–२० क्यानाडा २०१८’ खेल्न क्यानाडामा रहेकोले सन्दीप कार्यक्रममा उपस्थिति हुन सकेनन् ।
यसैगरी, पूर्वाञ्चलबाट ब्याडमिन्टनकी जेसिका गुरुङ, पश्चिमाञ्चलबाट क्रिकेटका करण केसी, मध्यमाञ्चलबाट शारीरिक सुगठनकी ननिता महर्जन, मध्यपश्चिमाञ्चलबाट ह्यान्डबलकी कल्पना ओली र सुदूरपश्चिमाञ्चलबाट ब्याडमिन्टनका दीपेश धामी पुरस्कृत भए ।
यसैगरी, पारामा ह्विलचेयर क्रिकेटका हिमाल अर्याल र पारा तेक्वान्दोकी रञ्जना धामीलाई पनि पुरस्वृmत गरियो । ट्रस्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । सम्मानित खेलाडीमध्ये दीपेशलाई सर्वश्रेष्ठ खेलाडी घोषित गरियो । उनलाई सम्मानपत्रका साथ रु पन्ध्र हजार एकले पुरस्कृत गरियो । अन्य खेलाडीलाई जनही रु दश हजार एक प्रदान गरिएको थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो । सो कार्यक्रममा मन्त्री विश्वकर्माले खेलकूदको माध्यमद्वारा देशको इज्जत र प्रतिष्ठा राख्ने मेधावी खेलाडीलाई हरेक वर्ष दिइने उत्कृष्ट खेलाडी पुरस्कार शहीद दशरथ चन्दप्रतिको ठूलो सम्मान भएको बताउनुभयो । कार्यक्रममा आयोजक ट्रस्टले गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई पनि नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ । ट्रस्टले यस वर्षदेखि उत्कृष्ट लेख÷रचनाको मूल्यांकन गरेर उत्कृष्ट पत्रकारिता पुरस्कारको थालनी गरेको हो । पुरस्कार राशि रु पाँच हजार एक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?