चीनको सहयोग महत्वपूर्ण : अध्यक्ष दाहाल


काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ ।”
सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाउनुभएको थियो । उहाँले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकामा बधाई दिनुभयो । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताउनुभयो । ‘वान बेल्ट वान रोड’ परियोजना कार्यान्वयनका लागि सहज वातावरण तयार भएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?