अलविदा क्रान्तियोद्धा


नेपालको राजनीतिक इतिहासका योद्धा र गणतान्त्रिक नेपालको आन्दोलनलाई विभिन्न रुपमा नेतृत्व गरेर, सहयोग गरेर आएका नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शुक्रबार राति भारतको कोलकोतामा निधन भएको छ । उनी २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्दा संसदको पहिलो प्रतिपक्षी दलका नेता थिए । तर २०१७ साल पौष १ गते राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरेपछि उनले आफूले नेतृत्व गरेको गोर्खा परिषद्लाई नेपाली कांग्रेसमा विर्सजन गरी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । २०४६ सालको सफल जनआन्दोलनपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेर उनले लोकतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेले । २००७ सालको क्रान्तिले नेपालमा स्थापित गरेको लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि त्यसको प्रतिपक्षी दलका नेताका रुपमा भरत शमशेरले निर्वाह गरेको भूमिका इतिहासका पानामा सुरक्षित भइरहेको छ । उनले २०१७ साल पौष १ गतेको कदमपछि नेपाली कांग्रेसलाई प्रजातन्त्रका लागि विना सर्त सहयोग गरेर आफू एउटा प्रजातन्त्रवादी भएको पुष्टि समेत गरेका थिए । आजका दिनमा भरतशमशेर राणा हाम्रा बीचमा छैनन् तर उनले एउटा सभ्रान्त परिवारमा राणा शासकको उत्तराधिकारी भएर भए पनि लोकतान्त्रिक विचारलाई जुन रुपमा अनुसरण गरेका थिए त्यसको जति प्रसंसा गरे पनि कम हुन्छ । अझ अगाडि बढेर कुरा गर्दा नेपाली कांग्रेसभित्र पनि उनले वैचारिक राजनीतिको पाटोलाई राम्रोसँग बुझेका थिए । यद्यपी नेपाली कांग्रेसभित्र रहेको एउटा समूहले उनलाई हिजोकै गोर्खा परिषद्कै रुपमा बुझ्ने कोशिस गरे पनि उनले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधीलाई गरेको राजनीतिक समर्थनले उनीभित्र राणाको छोरो भएर पनि वैचारिक धार बलियो भएको पुष्टि हुन्छ । आजका दिनमा नेपाली कांग्रेस सत्ताबाट बाहिर परेको छ । यस्तो अवस्थामा यो पार्टीले भरत समशेरजस्ता वैचारिक राजनीतिका पक्षधरहरूलाईको विचार सुन्नुपर्छ । उनले प्रजातन्त्रमा संकट आएर वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेपाली नेताहरूलाई जेल हालेको बेला नेपाली कांग्रेसलाई समर्थन गर्नका लागि आफ्नो पार्टी गोर्खा परिषद् भंग गरेका थिए । यो उनको चानेचुने त्याग र बलिदान थिएन । उनले राजा महेन्द्रबाट आएका धेरै आश्वासनहरूलाई अस्वीकार गर्दै नेपाली जनतालाई नै शक्तिशाली बनाउने आफ्नो अभियानमा अगाडि बढेका थिए । त्यस अर्थमा उनी एउटा क्रान्तिकारी मात्रै होइन महान प्रजातन्त्रवादी पनि थिए । आजको दिनमा भरत शमशेर राणा हाम्रा बीचमा छैनन् तर उनले नेपाली जनतामा छुवाछुतविरुद्ध गरेको उद्घोष कसैले विर्सन सक्दैन । देशव्यापी भ्रमणका क्रममा सम्पूर्ण मन्दिरहरूमा सबै दलितहरूलाई प्रवेश गराएर उनले एउटा राजनीतिक मात्र होइन् सामाजिक जागरण अगाडि बढाएका थिए । त्यसका लागि उनी आउने हरेक समयमा स्मरणका पात्र हुनेछन् । इतिहासमा उनको नाम सुनौला अक्षरले लेखिने छ । आजका दिनमा नेपाली कांग्रेसले एउटा वैचारिक धार भएका नेता गुमाएको छ तर यसलाई पूर्ण गर्नका लागि कांग्रेसले आफूलाई परिमार्जन पनि गर्नुपर्छ । लोकतन्त्रको अभ्यासमा एउटा वैचारिक स्पष्टता हुनुपर्छ । नेपाली कांग्रेसभित्र आजका दिनमा पनि धेरै स्वार्थ समूहहरू सक्रिय रहेका कारण वैचारिक अस्पष्टताका छिटाहरू देखिएका छन् । त्यसलाई अन्त्य गरेर कांग्रेसका महासमिति बैठकहरूले एउटै वैचारिक दृष्टिकोण अगाडि सार्नुपर्छ । त्यो नै आजको जिम्मेवारी हो । स्वर्गीय क्रान्तिनायक भरत शमशेर धेरै अर्थमा क्रान्तिकारी थिए उनले देखाएको बाटोबाट देशका युवाहरूले हिड्न सके भने भोलिको नेपाल साच्चिकै एउटा लोकतान्त्रिक देश बन्नेछ ।

असन बजारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?