महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने


किगाली: विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने शुक्रबार घोषणा गर्नुभएको हो । रुवान्डाको राजधानी किगालीमा भएको फिफा परिषद्को बैठकपछि उहाँले यो जानकारी दिनु भएको समाचारमा जनाइएको छ ।
उहाँका अनुसार यसअघि सन् २०१५ मा क्यानडामा भएको महिला विश्वकपको पुरस्कारको राशी त्यतिबेला तीन गुणा भन्दा बढी बृद्धि गरिएको थियो । “पुरस्कारको राशी अहिले फेरी ठ्याक्कै शतप्रतिशत बृद्धि गरेर एक करोड ५० लाख डलरबाट तीन करोड डलर पु¥याइएको छ,” इन्फान्टीनोले भन्नुभयो ।
यसै बर्ष रूसमा भएको विश्वकपको पुरस्कारको राशी भने ४० करोड डलर थियो । त्यसमा सन् २०१४ को पुरस्कार राशीमा चार करोड ८० लाख डलर बृद्धि गरिएको थियो । विश्वकप जितेको फ्रान्सले भने तीन करोड ८० लाख डलर पाएको थियो । अर्को बर्ष फ्रान्समा हुन लागेको महिला विश्वकप फुटबल प्रतियोगिता जुन ७ देखि जुलाई ७ सम्म गर्ने तय भइसकेको छ । यसअघि सन् २०१५ मा भएको प्रतियोगिताको उपाधि अमेरिकाले जितेको थियो । त्यस पहिलो महिला विश्वकप फुटबलमा २४ समूह सहभागी भएका थिए । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?