कांग्रेसको संरचना नमूना बनेको छ : पौडेल


काठमाडौं । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरी चिरफार गरी एकताको बाटोमा हिँड्न सिकाएको बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण भूमिका खेलेकोमा जोड दिए ।

बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दावी गर्दै पौडेलले कांग्रेसको संरचना नमूना बनेको बताए । नेता पौडेलले राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान पार्टी भित्रको आत्मविश्वासको प्रतीक भएको बताए ।

नेपाली कांग्रेसभित्र अब कुनै नेताको मनोमानी चल्न नसक्ने उनले बताए । उनले भने, ‘विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पु¥याउनेछ र समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिनेछ ।’

लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेस अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागिपर्ने नेता पौडेलको जोड थियो ।

विगतमा पार्टी कृपावाद र नातावादमा चल्ने गरेको आरोप लगाउँदै उनले अब पार्टीभित्र क्षमता र योगदान भएका व्यक्तिले पार्टी सञ्चालन गर्ने बताए ।

पौडेलले महासमिति बैठकले पास गरेको विधानले सबै वर्गलाई समेटेको उल्लेख गरेका छन् । उनले पार्टीलाई धर्मको विवादमा फसाउन नहुने भन्दै राजनीतिलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरे । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्मलाई समान व्यवहार हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?